प्रधानमन्त्री अब बहुमतीय प्रक्रियाबाट, भोलि उम्मेदवारी दर्ता

काठमाण्डौ २२ असोज । दलहरूबीच सहमति हुन नसकेपछि नयाँ प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रक्रिया सुरु भएको छ । संविधानको धारा १९८ को उपधारा (३) अनुसार राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार बहुमतबाट देशको नयाँ प्रधानमन्त्री चयन गर्न दलहरूलाई आह्वान गर्नेछन् ।

धारा १९८ को उपधारा (२) अनुसार राष्ट्रपति डा. यादवले १५ असोजमा एक सातामा सहमतीय प्र

धानमन्त्री चयन गर्न आह्वान गरेको समय बिहीबार १२ बजेदेखि सकिएको छ । बिहीबार मध्यरातसम्म सहमतिको समय रहेको, सहमति नभए शुक्रबार बिहान राष्ट्रपतिले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न आह्वान गर्ने सभामुख सुवास नेम्वाङले जानकारी दिए ।

‘सहमति गर्न राष्ट्रपतिले गरेको आह्वानको समय आज (बिहीबार)सम्म हो,’ नेम्वाङले आफ्नै कार्यकक्षमा बिहीबार सञ्चारकर्मीसँग भने, ‘भोलि (शुक्रबार)देखि बहुमतीय प्रक्रिया सुरु हुनेछ ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बहुमतीय प्रक्रिया सुरु गर्न शुक्रबार आह्वान हुने बताए । ‘राष्ट्रपतिले शुक्रबार फस्र्ट आवरमा बहुमतीय प्रक्रिया थाल्न आह्वान गर्नुहुनेछ,’ दाहालले भने ।

शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री निर्वाचनको मिति र निर्वाचन अधिकृत घोषणा हुनेछ । सभामुख नेम्वाङले संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नेछन् । भट्टराईले प्रधानमन्त्री निर्वाचनको तालिका सार्वजनिक गर्ने नेम्वाङले बताए ।