कुखुराको मासु र अण्डाको लागि देश आत्मनिर्भर रहेको हुँदा तत्काल मासुको मूल्य नबढ्ने भएको छ। कुखुरा व्यवसायीहरुका अनुसार मुलुक कुखुराको मासुमा आत्मनिर्भर भएकाले नै अघोषित नाकाबन्दी र चाडपर्वले कुखुराको मासुको मूल्यमा असर नपर्ने भएको हो।देशमा आवश्यक पर्ने कुखुराको मासु र अण्डा देशमा नै उत्पादन हुँदै आएको व्यवसायीहरुको भनाई छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले अहिले देशले भारतबाट कुखुरा र अण्डा आयात नगरेको बताए। उपत्यकामा मात्रै अहिले दैनिक २ देखि साढे दुई लाख किलोग्राम कुखुराको मासु खपत हुने गर्छ।
देशभरिमा भने दैनिक ७ लाख किलोग्राम मासु खपत हुने गर्दछ। उपत्यकामा अहिले कुखुराको मासु अभाव नभए पनि तराईका क्षेत्रमा भने कुखुराको मासुको अभाब छ।
‘आन्दोलन र बन्द भएका तराईका क्षेत्रमा अहिले कुखुराको मासुको अभाब भएको छ, बन्दका कारण उक्त क्षेत्रमा गाडी नचल्दा कुखुराको मासुको अभााब देखिएको हो’ बिसीले भने। तराई क्षेत्रमा आवश्यक पर्ने कुखुरा र अण्डा देशमै उत्पादन हुने गरे पनि ढुवानी बन्दका कारण तराई क्षेत्रमा मासुको अभाब देखिएको छ।
तर कुखुराको लागि आवश्यक पर्ने दानाको कच्चा पदार्थ भने भारतबाटै आयात हुने गरेको छ। तोरीको पिना, मकै जस्ताबस्तु भारतको नाकामै रोकिएका कारण अहिले दाना उद्योगहरुले दाना उत्पादन गर्न सकेका छैनन्।
१५ वर्ष अघिसम्म देशमा बिदेशबाट ठूलो परिमाणमा मकैको आयात हुँदैनथ्यो। तर युवा जनशक्ति बिदेश पलायन हुँदा पहाडको ठूलो भूभागमा मकै खेती हुन छाडेको छ। मकैको उत्पादनमा कमी आएपछि अहिले देशले खपत गर्ने मकैको ८० प्रतिशत भने भारतबाटै आयात हुने गरेको बिसीले जानकारी दिए।
दाना उद्योगी नारायणहरी खत्रीका अनुसार अघोषित नाकाबन्दी पछि दानामा प्रयोग हुने तोरीको पिना र भटमास अहिले भारतबाट आयात हुन सकेको छैन। दानाको लागि आवश्यक पर्ने कच्चा पदार्थ देशमा उत्पादन हुन नसक्दा अहिले दाना उत्पादनमा गिरावट आएको छ।
त्यस्तै ह्याचरी उद्योग संघका अध्यक्ष इश्वरी प्रसाद शर्माले चल्ला पनि भारतबाट आयात गर्नुपर्ने स्थिति नरहेको जानकारी दिए। चल्लाको लागि आवश्यक पर्ने औषधि भने देशले युरोपियन मुलुकबाट आयात गर्ने गर्छ।
अहिले एक हप्तामा २२ लाख ब्रोइलरको चल्ला खपत हुने गरेको छ भने लियर्सको चल्ला ३० हजार खपत हुन्छ। भारतको नाकाबन्दीले चल्ला उत्पादनमा समस्या सिर्जना नभएको शर्माको भनाई छ। तर दाना उत्पादनमा कमी आएपछि चल्ला नबिक्ने हुन् कि भन्ने ह्याचरी उद्योगहिरुमा आशंका पैदा हुन थालेको छ।
उनले भने ‘चल्ला उत्पादन भएर मात्रै भएन कुखुराले खाने दानाको भने अभाब हुन लागेको छ, दाना नपाएपछि चल्लाको बिक्रीमा प्रत्यक्ष असर पर्छ जसले पछिल्ला दिनमा मासुको उत्पादनमा समेत असर पार्न सक्छ।’
नाकाबन्दी एक हप्ता सम्म निरन्तर रहेमा कैयन कुखुरा व्यवसायीको कुखुरा दाना खान नपाएर मर्ने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष बिसीले बताए। दाना उत्पादनलाई नियमित गर्न नसके तिहारसम्ममा कुखुराको मासुको मूल्य प्रतिकेजी ४ सय रुपैयाँ सम्म पुग्ने बिसीको भनाई छ।
उनले भने ‘एक हप्तामात्रै नाकाबन्दी लम्बियो भने कुखुरा व्यवसाय क्षेत्रमा गरिएको अर्ब भन्दा माथिको लगानी डुब्ने खतरा छ, देशका युवा पलायन रोक्न सकेको भए, देशलाई आवश्यक पर्ने कृषिजन्य बस्तु उत्पादन गर्न सकेको भएमा भारतको नाकाबन्दीले कुखुरा व्यवसायमा कुनै असर पार्दैनथ्यो।’ साथै उनले युवा पलायन रोकेर देशमा कृषिजन्य बस्तुको उत्पादन गर्नेतिर सरकारले जोड दिनुपर्ने व्यवसायीहरुले बताएका छन्।






