६ असोज, काठमाडौं । ठूला होटल तथा रेष्टुरेन्टहरुले आफै बियर उत्पादन गरी बेच्न पाउने भएका छन् । सरकारले होटल तथा रेष्टुरेन्टलाई माइक्रोब्रुअरी स्थापनाका लागि इजाजत दिने निर्णय गरेको छ ।
औद्योगिक प्रवर्द्धन बोर्डको २१६औं बैठकले यस्तो निर्णय गरेको हो । माइक्रोब्रुअरी सञ्चालनका लागि सरकारले मापदण्ड समेत तयार पारेको छ । उक्त मापदण्डभित्र रहेर होटल तथा रेष्टुरेन्टले माइक्रोब्रुअरी सञ्चालन गर्न पाउने छन् । उत्पादित बियर आफ्नो होटल तथा रेष्टुरेन्ट बाहेक बाहिर बजारमा बिक्री गर्न पाउने छैनन् ।
उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले माइक्रोब्रुअरी सहितको रेष्टुरेन्टलाई पर्यटन उद्योगमा वर्गीकरण गर्न नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी भएको जानकारी दिए ।
यस्ता छन् मापदण्ड
सरकारले माइक्रोब्रुअरीबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा अधिकतम ७ प्रतिशतसम्म हुनुपर्ने मापदण्ड बनाएको छ । माइक्रोब्रुअरी पक्की भवनमा स्थापना गर्नुपर्ने हुन्छ ।
यसैगरी कच्चा पदार्थ भण्डारण, उत्पादन क्षेत्र तथा उत्पादित बस्तुको भण्डारण छुट्टा-छुट्टै स्थानमा गरिने व्यवस्था मिलाइएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । ‘क्लिन इन प्रोसेस फेसिलिटी’ तथा प्रयोगशालको व्यवस्था अनिवार्य गरिएको छ ।
माइक्रोब्रुअरीमा प्रयोग हुने ट्यांक तथा पाइपलाइन स्टेनलेस स्टीलको हुनुपर्ने छ । प्लास्टिकको पाइलाइन प्रयोग गर्नुपर्ने देखिएमा फुड ग्रेडको मात्र प्रयोग गर्नुपर्ने हुन्छ । बियर उत्पादन गर्दा इन्धनको रुपमा विद्युत र एलपी ग्याँसमात्र प्रयोग गर्न पाइने छ ।
माइक्रोब्रुअरी उद्योगले कम्तीमा एकजना अल्कोहल टेक्नोलोजिष्ट वा फूड टेक्नेलोजिष्टको प्रत्यक्ष निगरानीमा मात्र बियर उत्पादन गर्न पाउने छ । माइक्रोब्रुअरी सहितको रेष्टुरेन्टलाई पर्यटन उद्योगमा वर्गिकरण गरिने भएको छ ।
वर्गीकरणपछि मापदण्डमा उल्लेखित सम्पूर्ण प्रक्रियाहरु पुरा गरी माइक्रोब्रुअरी उद्योग स्थापनाको लागि अनुमति दिने प्रकृया सुरु हुने बताइएको छ ।






