गुल्मीका राजनैतिक दलले संयुक्त विजय उत्सव मनाए

जनार्दन घिमिरे
गुल्मी, ४ असोज । संविधान निर्माणको खुसियालीमा सोमवार गुल्मी जिल्लामा वृहद् विजय र्याली निकालीएको छ । जिल्ला स्थीत राजनैतिक दलहरुको संयुक्त आयोजनामा सदरमुकाम तम्घासमा बाजागाजा र अविरजात्राका साथ र्याली निकालेर उक्त विजय उत्सव मनाएका हुन् ।
सदरमुकाम तम्घास स्थीत वालमन्दिरवाट निकालीएको र्यालीले तम्घास वजार परिक्रमा गरि आम सभामा परिणत भएको थियो । सभामा वोल्दै विभिन्न राजनैतिकदल तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नेपाली जनताले लामो समयको प्रतिक्षापछि आफ्नो अपनत्व महशुस गर्ने खालको संविधान प्राप्त गरेको भन्दै त्यसको प्राप्त उपलव्धिलाई रक्षा गर्नु पर्नेमा सवैले जोड दिएका छन् ।
संविधान जारी भएपछि गुल्मेली जनताहरुमा यतिवेला निकै खुसियाली छाएको छ । यसै खुसियालीमा उनीहरु एक आपसमा शुभकामना आदान प्रदान गर्नुका अतिरिक्त दिपावली र अविर जात्रा गरेर नयाँ संविधानको स्वागत गरेका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले सोमवार संविधान निर्माणको खुसियालीमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।
पटक पटकका बन्द र हडतालको मारमा परेका गुल्मीका उद्योग ब्यवसायीहरु नेपालमा संविधान जारी भएकोमा सबै भन्दा बढी खुसी देखिएका छन । सबिधान जारीभएसँगै बन्द हडताल पनि हट्ने आशामा उनीहरु धेरै खुसी देखिएका हुन । ब्यवसायीहरुले नयाँ सबिधान घोषणासँगै मुलुकमा बन्द हडताल पनि अन्त्य भएको प्रतिक्रिया दिएका दिएका छन ।
सबिधान निमार्णले अव विकास निमार्ण प्रकृयामा समेत नयाँ ढोका खुलेको ब्यवसायीको बुझाई रहेको छ । संविधान निर्माणको खुसियालीमा जिल्लाका ग्रामिण क्षेत्रहरुमा समेत र्याली तथा सभाको आयोजना गरि विजय उत्सव मनाई रहेका छन् ।