प्रत्येक दुइ बर्षमा बेलायतमा हुने नेवारहरुको भेलाको तयारी पुरा भएको छ । मूल आयोजक समितिका संयोजक सुदर्शन श्रेष्ठका अनुसार बिभिन्न उपसमितिहरुले आ-आफ्नो जिम्मेवारी अनुसारको पूर्ण तयारी गरिसकेको छ । आफ्नो मौलिक संस्कृतिको प्रबर्द्धन तथा सम्बर्द्धन गर्ने उदेश्यले प्रत्येक २-२ बर्षमा गरिदै आएको चौथो बृहत नेवा: मुना आगामी शनिवार २९ अगष्टमा रिडिंगमा हुन् गइरहेको छ । सो मुनामा नेवारी कला-संस्कृतिको प्रदर्शन गर्ने, परम्परागत नेवारी खानाको समेत बिशेष ब्यबस्था गरिएको सो मुनाको लागि लोकप्रिय गायक बिबेक श्रेष्ठ आउने भएको छ ।
बिबेक श्रेष्ठसंगै अर्का चर्चित गायक योगेश्वर अमात्यको समेत सहभागिता रहने सो कार्यक्रममा प्रदर्शन गरिने सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेका शुशिल प्रजापतिका अनुसार सो मुनामा मन्जुश्री नृत्य, लाखे नाच, ख्याक, धिमे बाजा, ध बाजा, मस्केड भैरब गुन्न नाच, मस्केड लाखें वो चुम्पका नाच, देवी प्याखं, मस्केड ख्याक नाच, पुलुकिसी प्याख, सपरु प्याखं (घिन्तांग घिसि प्याखं) नेवारी गीत तथा नेपाली नृत्यहरु राखिएको छ ।
नेवार समुदायबाट शैक्षिक क्षेत्र, ब्यबसायिक क्षेत्रमा सफलता हासिल ग्स्रेका प्रतिभाहरुलाई सम्मान गरिने कुरा सम्मान उप-समितिका संयोजक यादव श्रेष्ठले बताउनु भयो । स्थानीय सांसद, मेयर, काउन्सिलर, बिभिन्न संघ-संस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहने सो कार्यक्रमको प्रमुख आतिथ्यता बेलायतस्थित कार्यवाहक नेपाली राजदुतबाट हुने कुरा पासा पुचः गुथी, युकेका महासचिव शिवजी श्रेष्ठले बताउनु भयो ।
सो कार्यक्रमबाट नेपालमा भुकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा सहयोग पुर्याउने लक्ष राखिएको सो कार्यक्रमको बेलायतस्थित नेवार समुदायले अधैर्यसाथ प्रतीक्षा गरिरहेको कुरा पासा पुचः गुथीका केन्द्रिय सदस्य ओजेश सिंह डंगोलले बताउनुभयो ।






