छोराको हत्यारा पत्ता लगाउन माग

धनगढी नगरपालिका–४ उत्तर बेहडी टोलमा एक युवकको घाँटी रेटेर रहस्यमय ढङ्गबाट मृत्यु भएको दुई वर्षसम्म पनि घटनाका दोषी पत्ता लाग्न नसक्दा मृतकका परिवारमा पीडा बढ्दै गएको छ । घटना पछि अध्ययन अनुसन्धानका लागि तत्कालै गठन भएका दुई छुट्टाछुट्टै प्रहरी टोलीले अहिलेसम्म घटनाको सत्यतथ्य कुरा बाहिर नल्याएका कारण मृतकका परिवारमा पीडा बढ्दै गएको हो ।
नगरक्षेत्रको वडा नं ५ तारानगरका युवक ओमप्रकाश पन्तको नजिकैको उत्तर बेहडी टोलमा घाँटी रेटिएको अवस्थामा २०६९ मङ्सिर २६ गते बिहान शव फेला परेको थियो । छोराको राति हत्या भएको मृतकका बुबा श्रीकृष्ण पन्तले बताउँदै आउनुभएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी नायब उपरीक्षक प्रेमबहादुर कार्कीको नेतृत्वमा घटनाको अध्ययन अनुसन्धानका लागि टोली गठन गरिएको थियो ।
यस्तै घटनाको अध्ययन गर्न सोही वर्षको जेठ महिनामा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दको नेतृत्वमा प्रहरी प्रधान कार्यालयबाट अर्को विशेष टोली गठन गरिएको थियो । मृतकका बुबा श्रीकृष्ण पन्त छोराको हत्या नै गरिएको भन्दै घटनाको सूक्ष्मरुपमा अध्ययन नगरी प्रारम्भिक अनुसन्धान फितलो र कमजोर बनाइएको, हत्याका प्रमाण नष्ट हुने काम गरिएको गुनासो गर्नुहुन्छ । घटना रहस्यमय देखिएकाले थप अनुसन्धान आवश्यकता रहेको अनुसन्धानका लागि गठन भएको प्रहरी टोलीले त्यतिबेलै बताएको भए पनि अहिलेसम्म घटनाको वास्तविकता बाहिर आउन सकेको छैन । मृतकका बुबा पन्तले बिहीबार पत्रकारसँग आफ्नो छोराका हत्यारा कानुनको कठघराभन्दा बाहिर रहेको भन्दै हत्यारा पत्ता लगाई कानुनको कठघरामा नल्याइए आफू आमरण अनशनमा बस्ने बताउनुभयो ।
श्रीकृष्णले छोराका हत्यारालाई कानुनको कठघरामा उभ्याउने तरिकाले घटनाको विस्तृत अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको छ । घटना पछि पन्त परिवार साविकको ठाउँबाट विस्थापित भई हाल अन्यत्रै बसिरहेका छन् ।