लण्डन आइपुगे नेपथ्य टोली

nepathye

लण्डन । आगामी शनिबार लण्डनमा हुने कन्सर्टका लागि नेपथ्यको टोली लण्डन आइपुगेको छ । नेपालकै बहुचर्चित तथा लोकप्रिय यो सांगीतिक समूहले अगस्ट ८ तारिखमा ब्रिक्सटनस्थित ओटु एकेडेमीमा कन्सर्ट गर्दैछ ।

नेपथ्य आवद्ध दशजनाको टोली बुधबार सांझ साढे ७ बजे ओमान एअरको विमानबाट लण्डनको हिथ्रो विमानस्थलमा उत्रिएको थियो । टोलीमा गायक अमृत गुरुंगसंगै ध्रुब लामा, सुरज थापा, सुविन शाक्य, निरज गुरुंग, शान्ति रायमाझी लगायतका संगीतकर्मी छन । कन्सर्टका आयोजक तथा यहांस्थित केहि नेपाली पत्रकारले हिथ्रो विमानस्थलमा कलाकारहरुको स्वागत गरे ।

विश्वमै लोकप्रिय मानिन्छ ओ टु एकेडेमी ब्रिक्सटन । नेपथ्यको नाम अब त्यस हलका अघिल्ला प्रस्तोताहरु बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुको लहरमा जोडिनेछ । त्यो हलसंग एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता थुप्रै अरु नाम पनि जोडिएका छन् ।

नेपथ्यले गोर्खा परम्पराको दुई सय वर्ष पुरानो इतिहासमा समर्पित गीतदेखि नयां एल्बमका चारसहित पुराना गीत गाउने कार्यक्रम छ ।

कन्सर्ट हेर्न चाहने दर्शकले ३० पाउण्डको टिकट लिनुपर्नेछ । आयोजक ईलाइट्स इभेन्टसका एलबीजेड गुरुंगका अनुसार कन्सर्टका लागि अधिकांश टिकट बिक्री भइसकेका छन ।