एनआरएन यूकेको छैटौं अधिवेसन सेप्टेम्बर १९ मा हुने

लण्डन ।

NRN_UK-Election15_Notice_FINAL

एनआरएन यूकेको छैटौं अधिवेसन सेप्टेम्बर १९ तारिख शनिबारका लागि तय भएको छ । यसअघि जुराइएका कैयौं तिथीहरु सार्दै जाने क्रममा अन्तत १९ तारिखको टुंगो लगाइएको हो ।NRNA-image[1]

तर सेप्टेम्बर १५ भित्रै निर्वाचन गर्नुपर्ने आईसिसीको निर्देशनअनुसार निर्वाचन भने सेप्टेम्बर १३ मा नै गरिने भएको छ । त्यस्तै यसपटक पहिलोपटक वेल्स, स्कटल्याण्ड र नर्थन आयरल्याण्डमा पनि मतदान गर्न पाउने व्यवस्था गरिने भएको छ । यी तीनै ठाउंको मतदान भने सेप्टेमबर १० तारिखमै हुनेछ ।

निर्वाचन समितिका तर्फबाट सदस्यसचिव रामशरण सिंखडाले जारी गरेको सुचनामा मतदान केन्द्रहरु भने अन्तीम नामावली प्रकाशित भएपछि कार्यसमितिको परामर्शमा सार्वजनिक गरिने उल्लेख छ । निर्वाचन समितिका अनुसार इंग्ल्याण्डको हकमा लण्डनबाहिर पनि मतदान केन्द्र राख्ने वा नराख्ने भन्ने अझै टुंगो छैन ।

अधिवेसन लण्डनको प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा हुने पक्का भएको छ । अधिवेसन बिहान ११ बजेदेखि सांझ ५ बजेसम्म चल्ने कार्यक्रम छ ।

निर्वाचन कार्यक्रम प्रकाशित
निर्वाचन समितिले निर्वाचन कार्यक्रम पनि प्रकाशन गरेको छ । जसअनुसार सदस्यता लिने तथा नविकरण गर्ने म्याद अगस्ट १५ तारिख सांझ ६ बजेसम्म तोकिएको छ । त्यस्तै सदस्यहरुको नामावली पहिलो प्रकाशन २४ अगस्ट सांझ ५ बजे गरिनेछ भने २५ अगस्टको सांझ ५ बजेसम्म सदस्यहरुको नामावलीमाथि दाबी विरोधको समय छुट्याइएको छ ।

मतदाताको अन्तीम नामावली प्रकाशन २८ अगस्ट दिउंसो ५ बजे गरिनेछ ।  त्यस्तै उम्मेदवारी मनोनयन दर्ता २९ अगस्ट सांझ ५ बजेसम्म गर्नुपर्नेछ भने उम्मेदवारको नामावली प्रकाशन पनि सोहि दिन गरिनेछ । ३० अगस्ट सांझ ५ बजेसम्म उम्मेदवारको नामावलीमा दाबी विरोधको समय छ भने सो दिन राती ८ बजेभित्र उम्मेदवारी फिर्ता लिने समय छुट्याइएको छ । सोहि दिन उम्मेदवारहरुको अन्तमि नामावली प्रकाशन गरिनेछ ।

सेप्टेम्बर ५ तारिखका लागि उम्मेदवारहरबीचको डिवेट बहसको कार्यक्रम पनि राखिएको छ ।  सेप्टेम्बर १० मा स्कटल्याण्ड, वेल्स र नर्थन आयरल्याण्ड तथा सेप्टेम्बर १३ मा इंग्ल्याण्डमा निर्वाचन भएपछि अधिवेसनका दिन १९ तारिख दिउंसो ४ बजे घोषणासभा हुनेछ ।

एनआरएन यूकेको नयां कार्यसमितिका लागि एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक महिला संयोजक, एक युवा संयोजक र ९ जना सदस्यहरुका लागि चुनाव हुंदैछ । १ हजार सदस्यहरु दर्ता भए एक जना आईसिसी सदस्य पाइने व्यवस्थाअनाुसार सदस्यहरको संखया यकिन भएपछि मात्रै बेलायतबाट कति आईसिसी सदस्य चयन हुने टुंगो लाग्नेछ ।

अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि १ हजार पाउण्डको शुल्क लाग्छ भने उपाध्यक्ष र महासचिवमा ७ सय ५० पाउण्ड । त्यस्तै सचिव, कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकका लागि ५ सय तथा सदस्यहरुका लागि ३ सयको उम्मेदवारी शुल्क कायम छ ।

आईसिसी सदस्यमा उम्मेदवारी दिनेहरुका लागि भने १ हजार पाउण्ड लाग्नेछ । उम्मेदवारी दर्ता गर्दा बुझाएको शुल्क उम्मेदवारी फिर्ता लिएमा वा रद्ध भएमा समेत फिर्ता हुनेछैन ।

निर्वाचनको सुपरिवेक्षण गर्नका लागि कार्यसमितिको परामर्शमा निर्वाचन समितिले एक पर्यवेक्षण टोली गठन गर्ने समेत बताएको छ ।

ऐतिहासिक निर्वाचनका लागि प्रतिबद्धता
यसैबीच निर्वाचन समितिले एनआरएन यूकेको इतिहासकै सबैभन्दा सफल र ऐतिहासिक निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सदस्यसचिव सिंखडाले जारी गरेको सुचनामा विगतका कमी कमजोरीबाट संस्थाको गरिमा र प्रतिष्ठामा ह्रास आएको भन्दै संस्थाभित्रका विकृति, विसंगतिलाई चिर्न इमान्दारिता, निश्पक्षता र कतव्र्य परायणताबाट विचलित नहुने दृढता व्यक्त गरिएको छ ।

विगतमा पोस्टल मतदानमा भित्रिएको अनियमितताका कारण यसपटक सो व्यवस्था हटाइपनि निर्वाचनमा अधिकतम सहभागिता गराउने प्रयासमा स्कटल्याण्ड, वेल्स र नर्थन आयरल्याण्डमा पनि पहिलोपटक मतदानको व्यवस्था गरिएको बताइएको छ ।