लन्डनमा पूर्व गोर्खा सैनिक तथा परिवारसँग क्यान इन्टरनेसनल यूकेले मनायो दसैँ–तिहार

लन्डन । बेलायतमा रहेका पूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारका ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै क्यान इन्टरनेसनल यूकेको सहयोगमा दसैँ–तिहार विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार ७ नोभेम्बरका दिन साउथ ह्यारोस्थित भट्टी नेपाली तथा नेवारी रेस्टुरेन्टमा आयोजित ‘पूर्व गोर्खा सैनिक तथा परिवारको दसैँ–तिहार उत्सव तथा भेटघाट’ कार्यक्रममा पूर्व गोर्खा सैनिक, उनीहरूका परिवारका सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

क्यान इन्टरनेसनल यूकेका प्रमुख डा. बलराम ढकालको उपस्थितिमा सम्पन्न कार्यक्रमको संयोजन गैरआवासीय नेपाली संघ यूकेका प्रमुख संरक्षक एवं समाजसेवी डेभिड गुरुङले गरेका थिए।

वेस्ट लन्डन गोर्खा हबको आयोजनामा तथा क्यान इन्टरनेसनलको सहयोगमा सम्पन्न कार्यक्रममा सहभागीहरूले दसैँ–तिहारको शुभकामना आदानप्रदान गर्दै आपसी भेटघाट, रमाइलो र मनोरञ्जनका साथ समय बिताएका थिए। कार्यक्रममा सहभागीहरूका लागि मिठो भोजनको समेत व्यवस्था गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्याप्टेन इन्द्र गुरुङ उपस्थित थिए। त्यसैगरी कर्ण दर्लामी, भरत रोका लगायत पूर्व गोर्खा सैनिक, ज्येष्ठ नागरिक, परिवारका सदस्य तथा समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको व्यवस्थापन तथा सहभागीहरूलाई एकत्रित गर्ने कार्य गैरआवासीय नेपाली संघ यूकेका प्रमुख संरक्षक एवं समाजसेवी डेभिड गुरुङले गरेका थिए। उनले कार्यक्रमले पूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारबीच आपसी सम्बन्ध, आत्मीयता र एकता बढाउन सहयोग पुग्ने बताए।

क्यान इन्टरनेसनल यूकेका प्रमुख डा. बलराम ढकालका अनुसार पूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम पूर्ण रूपमा निःशुल्क थियो।

उनले यस्ता भेटघाट तथा सामाजिक कार्यक्रमले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, मानसिक सन्तुलन र खुसीमा सकारात्मक प्रभाव पार्नुका साथै लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका पूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारलाई एकै ठाउँमा भेटघाट गर्ने अवसर प्रदान गर्ने बताए।

कार्यक्रमले नेपाली चाडपर्वको मौलिकता र सांस्कृतिक परम्परालाई बेलायतमा निरन्तरता दिनुका साथै पूर्व गोर्खा समुदायबीच आत्मीयता र सद्भाव अभिवृद्धि गर्ने सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *