लन्डन । भोटेकोशी बाढीपीडितको सहयोगार्थ नेपलिज वुमन एसोसिएसन यूकेले लन्डनमा च्यारिटी लञ्च कार्यक्रम आयोजना गरेको छ।
एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठको आयोजनामा आइतबार लन्डनको नर्थफिल्ड्सस्थित मन्टीज रेस्टुरेन्टमा आयोजित कार्यक्रममा इलिङकी मेयर, स्थानीय काउन्सिलर, पूर्वमेयर, बेलायती शुभचिन्तक तथा नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।
एसोसिएसनकी सचिव प्रसुना कँडेलले सञ्चालन गरेको कार्यक्रममा सम्बोधन गर्दै इलिङकी मेयर काउन्सिलर फादुमा मोहम्मेदले भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावितहरूको सहयोगका लागि एसोसिएसनले गरेको मानवीय पहलको प्रशंसा गरिन्।
त्यसैगरी, बेलायती च्यारिटी संस्था ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष निक हिन्टन एमबीईले बाढीपछि नेपाल सरकारले चालेका कदमहरूको प्रशंसा गर्दै आफ्नो संस्थाले यसअघि नै बाढीपीडितका लागि सहयोग गरिसकेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा काउन्सिलर रञ्जित धीर ओबीईले नेपालको बाढी विपद् अत्यन्तै दुःखद भएको उल्लेख गर्दै प्रभावितहरूको सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले कार्यक्रममा सहभागी अतिथि, सहयोगी तथा आर्थिक योगदान गर्ने सबैप्रति आभार व्यक्त गरिन्। उनले कार्यक्रममा संकलित रकम आगामी नोभेम्बर १४ तारिख लन्डनस्थित नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने योजना रहेको जानकारी दिइन्। सहयोग संकलन अभियान जारी रहेकाले इच्छुक सबैलाई सहयोग गर्न उनले अपिलसमेत गरिन्।
कार्यक्रममा सोलिसिटर राजु थापा, एनआरएनए यूकेकी पूर्वअध्यक्ष तथा एसोसिएसनकी उपाध्यक्ष पुनम गुरुङ, यती नेपाली एसोसिएसन यूकेका पूर्वअध्यक्ष ध्रुव केसी, क्याप्टेन आरएस श्रेष्ठ, पत्रकार नवीन पोखरेल र शिव भण्डारी तथा मन्टीज रेस्टुरेन्टका सञ्चालक दीपेन्द्र कार्कीलगायत विभिन्न सामाजिक अगुवाहरूको उपस्थिति थियो।
‘स्ट्यान्डिङ टुगेदर फर नेपाल’ नारासहित आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल र नेपाली समुदायबीचको सम्बन्ध, मानवीय एकता तथा विपद्का बेला एकअर्कालाई सहयोग गर्ने भावनाको महत्त्वमाथि जोड दिएका थिए।






