लन्डन। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) यूकेको शाखाले £८३८ (आठ सय अठ्तीस पाउन्ड) रु एक लाख ७० हजार प्रधानमन्त्री विपद् राहत कोषमा सहयोग प्रदान गरेको छ।
उक्त रकम बेलायतस्थित नेपाली इन्जिनियरहरू तथा नेपाली समुदायका सदस्यहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको हो। संकलित सहयोग बाढीबाट प्रभावित नेपाली नागरिकहरूको राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वास गरिएको छ।
एनईए यूकेका उपाध्यक्ष गौचन गुरुङका अनुसार कठिन परिस्थितिमा नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउन उक्त रकम संकलन गरिएको हो। उनले सहयोग अभियानलाई सफल बनाउन साथ दिने सम्पूर्ण इन्जिनियरहरू तथा नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन्।
सहयोग संकलन तथा व्यवस्थापनमा एनईए यूकेका अध्यक्ष न्यूसन श्रेष्ठ, उपाध्यक्ष गौचन गुरुङ, कोषाध्यक्ष पूजा गुरुङसहित कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको थियो।
यसैगरी, शाखाका प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष इन्दु राई, उदीप राईलगायतको सहयोग, समन्वय र प्रेरणाले अभियान प्रभावकारी बनेको उपाध्यक्ष गुरुङले बताएका छन्।
उनले प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई मानवीय सहयोग गर्नु साझा दायित्व भएको उल्लेख गर्दै संकटको समयमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। साथै, आगामी दिनमा पनि नेपालमा आवश्यक परे मानवीय तथा सामाजिक पहलहरूमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एनईए यूकेले बाढीबाट प्रभावित सबै परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापना कार्य प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।






