सिड्नी आइपुग्यो मानवसेवा आश्रमको टोली, शनिबार भव्य कार्यक्रम हुँदै

सिड्नी । नेपालमा सडकमा जीवन बिताउन बाध्य, बेसहारा तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूको उद्धार, उपचार, परिवार पुनर्मिलन र पुनर्स्थापनामा सक्रिय मानवसेवा आश्रमको टोली सिड्नी आइपुगेको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायसँग मानवीय अभियानलाई जोड्ने उद्देश्यले अष्ट्रेलियाका विभिन्न सहरमा कार्यक्रमहरू सम्पन्न गर्दै आज तास्मानियाबाट मानवसेवा आश्रमको टोली सिड्नी आइपुगेको हो।  सिड्नी र क्यानबेरामा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी रहेको आयोजकले जनाएको छ।

मानवसेवा अष्ट्रेलिया सिड्नीको आयोजनामा आगामी ३ अक्टोबर २०२६, शनिबार Auburnस्थित ग्रान्ड प्यालेस फङ्सन्स सेन्टरमा ‘Connect Australia Through Humanity – Meet & Greet’ कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा मानवसेवा आश्रम नेपालका संस्थापक तथा अध्यक्ष रामजी अधिकारीको विशेष उपस्थिति रहनेछ।कार्यक्रममा आश्रमले नेपालमा सञ्चालन गर्दै आएको मानवीय अभियान, हालसम्मको सेवा तथा आगामी योजनाबारे प्रत्यक्ष जानकारी गराउने र अष्ट्रेलियास्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने तयारी गरिएको छ। मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीसहितको टोलीले मानवीय सेवाका अनुभव तथा अभियानका विषयमा सहभागीहरूसँग संवाद गर्नेछ।

आश्रमका अनुसार हाल नेपालका सातै प्रदेशका २४ जिल्लामा ३५ वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन भइरहेको छ। हाल आश्रममा २ हजार ४१८ जना आश्रित रहेका छन् भने अभियानमार्फत हालसम्म ६ हजार २८ परिवारको पुनर्मिलन गराइएको छ।

त्यस्तै, उपचार तथा संरक्षणपछि ४ हजार ३७६ जना स्वेच्छाले आश्रमबाट बाहिरिएर आफ्नै जीवनमा फर्किएका छन्। सेवा तथा संरक्षणका क्रममा १ हजार ८०४ जनाको निधन भएको तथ्यांक आश्रमले सार्वजनिक गरेको छ। समुदायमा पुनःस्थापना तथा पुनर्वासका लागि हालसम्म २ हजार जनालाई सेवा प्रदान गरिएको जनाइएको छ। आश्रमको तथ्यांकअनुसार हालसम्म प्रदान गरिएको कुल सेवा संख्या १४ हजार २०७ पुगेको छ।

मानवसेवा आश्रमले सडकमा सहयोगको आवश्यकता भएका व्यक्तिहरूको उद्धारसँगै उपचार, संरक्षण, परिवार खोजी तथा पुनर्मिलन, पुनर्स्थापना र पुनर्वासलाई आफ्नो अभियानको मुख्य हिस्सा बनाउँदै आएको छ। आश्रमका अनुसार सडकमा आश्रित तथा सहयोग आवश्यक पर्ने मानिसहरूबाट मुक्त घोषणा गरिएका क्षेत्रमा तीन प्रदेश, दुई महानगरपालिका, १२ नगरपालिका, तीन उपमहानगरपालिका, तीन जिल्ला र तीन गाउँपालिका समेटिएका छन्।

मानवसेवा अष्ट्रेलियाका अध्यक्ष त्रिलोचन पोखरेलका अनुसार नेपालमा सञ्चालन भइरहेको मानवीय अभियानलाई अष्ट्रेलियामा रहेका नेपाली समुदायसँग जोड्ने उद्देश्यले सिड्नी कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममार्फत मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदायको सहभागिताका विषयमा प्रत्यक्ष संवाद गर्ने अवसर सिर्जना गरिने उनले बताए।

कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सिड्नीमा हुने यो भेटघाटले नेपालमा सञ्चालन भइरहेको मानवसेवा आश्रमको अभियानबारे अष्ट्रेलियास्थित नेपाली समुदायलाई प्रत्यक्ष जानकारी गराउनुका साथै आगामी दिनमा मानवीय सेवाका क्षेत्रमा सहकार्य र सहभागिताको सम्भावना विस्तार गर्ने उद्देश्य राखेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *