लन्डन ।
यती नेपाली एसोसिएसन यूकेले सञ्चालन गरेको यती कप २०१५ प्लमस्टिड युथले जितेको छ । शनिबार ग्रीनफोर्ड ब्रेन्टसाइड मैदानमा आयोजित प्रतियोगितामा प्लमस्टिड युथले ३ गोल गरि अवार्ड सुरक्षित गरेको हो । उक्त टिमले एक हजार २५० पाउण्ड नगद र ट्रफी प्राप्त गरेको छ । प्लमस्टिड एफसीले यती कप जितेको यो चौंथोपटक हो । उसले यसअघि लगातार तीनपटक जितेर यती रनिङ कप आफ्नो बनाइसकेको छ । आजीवन सदस्य पिपला देवानले विजेता टिमलाई मुख्य कप प्रदान गरिन् । ७०० पाउण्ड बराबरको यती रनिङ कप एसोसिएसनकी आजीवन सदस्य देवानले प्रायोजन गरेकाले उनको हातबाट प्रदान गरिएको हो ।
कुल १८ टिम सहभागी प्रतियोगितामा रनरअप भएको बी १३ एफसीले कप र ६०० पाउण्ड नगद प्राप्त गर्यो ।
प्रतियोगितामा हाइ स्कोरर र म्यान अफ दि म्याच प्लमस्टिड युथकै रेगन गुरुङले हात पारे ।
खेलकुद सचिव पुरुषोत्तम राईको संयोजनमा भएको उक्त प्रतियोगिताको औपचारिक कार्यक्रम महासचिव शशीधर नेपालले सञ्चालन गरेका थिए । अध्यक्ष उमेश मोक्तानको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा मुख्य अतिथी थिए इलिङ काउन्सिलर सितल मुन्द्रो । अतिथिहरुमा एनआरएनए यूकेका महासचिव राजकुमार त्रिपाठी, कोडेक यूके अध्यक्ष विष्णु वाग्ले, गोर्खाली समाज यूकेका अध्यक्ष भरत क्षेत्री, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, समाजसेवी एवं वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली, तमु समाज बेलायतका सल्लाहकार सुवसिं गुरुङ, साहित्यकार हरिसिंह थापा लगायत सयौं दर्शक सहभागी थिए ।
अत्यन्त सौहार्द वातावरणमा खेल सम्पन्न भएको एसोसिएसनले जनाएको छ । उक्त अवसरमा वालवालिकाका लागि बाउन्सी क्यासल र चित्रकला प्रतियोगिता समेत राखिएको थियो । प्रतियोगितामा तीन जनालाई विजेता घोषणा गरियो ।







