सिड्नी । एनआरएनए अष्ट्रेलियाअन्तर्गत नारी निकुञ्ज न्यू साउथ वेल्सको आयोजनामा तीजको सांस्कृतिक पक्षसँगै नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र ऐक्यबद्धता व्यक्त गर्दै ६ सेप्टेम्बर, आइतबार अबर्नस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा तीज कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको सुरुवात नेपालमा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण बाट गरिएको थियो। त्यसपछि दीप प्रज्वलन तथा क्यान्डल लाइटमार्फत विपद्प्रति संवेदना व्यक्त गरिएको थियो। परम्परागत शैलीमा तीजमनाउने क्रममा नेपालमा परेको विपद्को पीडालाई समेत स्मरण गर्दै गरिएको यो कार्यक्रम समयसापेक्ष र संवेदनशील देखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने विशेष अतिथिहरू न्यू साउथ वेल्सका सांसद जुलिया फिन एमपी र लिन्डा भोल्ट्ज एमपी लगायतका अतिथिहरूले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा नेपाली समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गरेका थिए। उनीहरूले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायले पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। नेपाली समुदायले कला, संस्कृति, सामाजिक सेवा, व्यवसाय तथा सामुदायिक गतिविधिमार्फत अष्ट्रेलियाली समाजमा पुर्याएको सकारात्मक योगदानको उनीहरूले सराहना गरेका थिए।
कार्यक्रममा काउन्सिलर सुसेई बेन्जामिन, डिभाइन कम्युनिटीका अध्यक्ष योगेश खट्टर, एनआरएनएका संस्थापक अध्यक्ष मन केसी, पूर्व अध्यक्ष गणेश केसी, एनआरएनए कोषाध्यक्ष निजन चौलागाईं, नारी निकुञ्जकी संस्थापक अध्यक्ष रञ्जु वाग्ले थापा, संस्थापक उपाध्यक्ष अञ्जना पन्त, पूर्व नारी निकुञ्ज अध्यक्ष संगीता चापागाईं, विष्णु हमाल, प्रतिज्ञा अधिकारी न्यू साउथ वेल्स राज्य संयोजक उषा किरण बरियाले पनि कार्यक्रममा मन्तव्य दिएका थिए। वक्ताहरूले संस्थाले नेपाली महिला तथा समुदायका लागि गर्दै आएका गतिविधि र योगदानबारे समेत चर्चा गरेका थिए।
कार्यक्रम संयोजक आशा श्रेष्ठले दुःख र शोकलाई शक्तिमा परिवर्तन गर्दै विपद्बाट माथि उठ्न तथा पुनःस्थापनाका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा उनीहरूले व्यक्त गर्दै यस वर्षको तीज कार्यक्रमलाई विगतका वर्षभन्दा फरक र विशेष बनाउने उद्देश्यले आयोजना गरिएको बताइन ।नारी निकुञ्ज न्यू साउथ वेल्सकी संयोजक आशा श्रेष्ठले उपस्थित अतिथि, प्रायोजक, कलाकार, स्वयंसेवक, सहयोगी तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेकी थिइन्। भने स्वागत मन्तव्य नारी निकुञ्ज न्यू साउथ वेल्सकी उप–महिला संयोजक लक्ष्मी भण्डारी अधिकारीले दिएकी थिइन् भने कार्यक्रम सञ्चालन आरबी डायमन्डकी ब्रान्ड एम्बेसडर सोनिया केसीले उत्कृष्ट शैलीमा गरेकी थिइन्। कार्यक्रममा सहयोग गर्ने प्रायोजक तथा विभिन्न संघसंस्थालाई समेत धन्यवाद दिइएको थियो।
कार्यक्रममा एनआरएनएका संस्थापक इन्द्रा बन, नारी निकुञ्जकी संस्थापक उपाध्यक्ष अञ्जना पन्त, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान पूर्व अध्यक्ष सुजाता बस्नेत केसी, नारी निकुञ्जकी सल्लाहकार मेन्ना शर्मा, तमु समाज अष्ट्रेलियाकी अध्यक्ष समिता गुरुङ , एनआरएनए तथा नारी निकुञ्ज पूर्व पदाधिकारीहरू, विभिन्न समाजका प्रतिनिधिहरू, पत्रकारहरू र समाजसेवीहरू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कला तथा संस्कृतिलाई प्राथमिकता दिँदै अष्ट्रेलियामा हुर्कँदै गरेका नेपाली दोस्रो पुस्ताकाहरूको पनि विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति राखिएको थियो। नृत्यकला तथा नेपाली कला तथा साहित्य प्रतिष्ठानसँग सम्बन्धित कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै चर्चित कलाकारहरू जेनिशा गौतम, प्रताप दास, दीपिका बयाम्बु र राधिका हमाललगायतले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारहरूले देशभक्ति भावका गीतसमेत प्रस्तुत गर्दै दर्शकहरूलाई मनोरञ्जनसँगै नेपाल र मातृभूमिको सम्झनामा जोडिएका थिए। देशभक्ति गीतका प्रस्तुतिले कार्यक्रममा उपस्थित नेपालीहरूलाई भावुक बनाउँदै नेपालप्रतिको माया र सम्बन्धलाई थप स्मरण गराएको देखिन्थ्यो ।
कार्यक्रमका लागि आरबी डायमन्ड प्रस्तुतकर्ताका रूपमा रहेको छ भने गोल्डेन वाक एजुकेसन एन्ड भिसा सर्भिसेस र मार्को होम्स पावर बाइका रूपमा रहेका छन्। त्यस्तै ए–वान ग्रुप सर्भिसेस, ८८१८ मोमो हाउस, जब फोर अनलाइन, ईटी रिक्रुटमेन्ट लगायत विभिन्न व्यवसायिक संस्था तथा समुदायसँग सम्बन्धित संस्थाहरूले कार्यक्रमलाई सहयोग गरेका थिए ।






