लन्डन — नेपालमा हालै आएको बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि बेलायतको कोर्नवलस्थित फालमाउथमा आयोजित एक च्यारिटी कार्यक्रममार्फत ३ हजार पौण्ड रु (६ लाख) संकलन गरिएको छ।
कोर्नवलमा विगत तीन दशकदेखि बसोबास गर्दै आउनुभएका समाजसेवी तथा व्यवसायी हेमकान्त शेडाईको पहलमा उक्त विशेष च्यारिटी कार्यक्रम आयोजना गरि ३ हजार पौण्ड संकलन गरीएको हो।

विपद्को समयमा तत्काल सहयोग पुर्याउने उद्देश्यसहित सेप्टेम्बर ५ र ६ तारिखमा फालमाउथस्थित बाल्टी करीज रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा स्थानीय मेयर तथा जनप्रतिनिधिहरू, लायन्स क्लब अफ कोर्नवलका अध्यक्ष तथा पदाधिकारीहरू साथै स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित स्थानीय समुदाय तथा सहयोगी मनहरूले नेपालको विपद्को समयमा ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग गरेका थिए।
व्यवसायी हेमकान्त शेडाईले यसअघि सन् २०१५ (वि.सं. २०७२) को विनाशकारी भूकम्पका समयमा पनि च्यारिटी कार्यक्रममार्फत करिब रु २० लाख बराबरको सहयोग जुटाइसकेका थिए। विदेशमा रहेर पनि निरन्तर रूपमा नेपालका विपद् पीडितका लागि सहयोग जुटाउँदै आएको उनको पहललाई स्थानीय समुदायले उच्च प्रशंसा गरेका छन्।
आगामी १४ अक्टोबर २०२६ मा पनि अर्को च्यारिटी डिनर आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
नेपालमा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावित परिवारहरूको सहयोगार्थ गरिएको यस अभियानमा सहभागी तथा सहयोग गर्ने सम्पूर्ण फालमाउथ तथा कोर्नवलवासीप्रति आयोजक हेमकान्त शेडाईले धन्यवाद व्यक्त गरेका छन्।






