निम्फा अष्ट्रेलियाले मनायो भव्य रूपमा अन्तर्राष्ट्रिय आदिवासी दिवस

सिड्नी । नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलिया (निम्फा) ले अन्तर्राष्ट्रिय आदिवासी दिवस–२०२६ विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। १४ अगस्ट २०२६, शुक्रबार हर्स्टभिलस्थित मराना अडिटोरियममा आयोजित कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपाली आदिवासी जनजाति समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

‘आदिवासी जनजाति र कृत्रिम बुद्धिमत्ता : अधिकारको संरक्षण र भविष्यको निर्माण’ तथा ‘आदिवासी जनजाति दाईहरूको सम्मान : जीवन र कल्याणको संरक्षण’ भन्ने विषयलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा नेपाली आदिवासी जनजातिका भाषा, कला, संस्कृति, भेषभूषा तथा मौलिक परम्परा झल्काउने विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो। त्यसैगरी नौ पटक सगरमाथा आरोहण गरेका कुंगा शेर्पाले आफ्नो अनुभव तथा उत्प्रेरणात्मक प्रस्तुति दिएका थिए।

निम्फाका अध्यक्ष लक्ष्मण गुरुङले आदिवासी जनजातिका साझा अधिकार, पहिचान तथा सरोकारका विषयमा सबै समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। उनले विश्वभर रहेका आदिवासी समुदायका अधिकार स्थापित गर्न तथा नेपाली आदिवासी जनजातिको भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणका लागि निम्फाले निरन्तर भूमिका निर्वाह गर्दै आएको बताए।

कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा समेटिएको परम्परागत पोशाक प्रदर्शनी तथा फेशन शो विशेष आकर्षण बनेको थियो। विभिन्न समुदायका प्रतिनिधिहरू आ–आफ्ना मौलिक पोशाकमा सहभागी भई जातीय पहिचान र सांस्कृतिक विविधता प्रस्तुत गरेका थिए। सांस्कृतिक कार्यक्रमअन्तर्गत किरात याक्थुङ चुम्लुङको च्याब्रुङ नृत्य, छन्त्याल परिवार अष्ट्रेलियाको थाली नृत्य, किरात राई समुदायको राई नृत्य, थारु सोसाइटी सिड्नीको थारु नृत्य तथा मगर समाज अष्ट्रेलियाको मगर नृत्य प्रस्तुत गरिएको थियो। त्यसैगरी गुठी अष्ट्रेलियाको नेवारी तथा लाखे नृत्य, तामाङ सोसाइटी अफ न्यू साउथ वेल्सको तामाङ नृत्य, तमु समाज सिड्नीको गुरुङ नृत्य, थकाली सेवा समिति अष्ट्रेलियाको थकाली नृत्य, राजवंशी समाज अष्ट्रेलियाको सांस्कृतिक प्रस्तुति तथा शेर्पा समुदायको नृत्यलगायतका कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रममा विभिन्न अतिथि तथा वक्ताहरूको समेत उपस्थिति रहेको थियो।  न्यू साउथ वेल्स सरकारका बहुसांस्कृतिक मन्त्री स्टिभ क्याम्पर, सांसद साइमन बाल्डरसन एएम, बार्टन निर्वाचन क्षेत्रकी सांसद एश अम्बिहैपहार, एन्ड्र्यु जुज, सांसद झी सुन तथा थिडा याङ लगायतले अष्ट्रेलियाली समाजमा नेपाली समुदायले पुर्‍याउँदै आएको सकारात्मक योगदान, सामाजिक सहभागिता तथा बहुसांस्कृतिक समाजलाई थप समृद्ध बनाउन नेपाली समुदायको भूमिकाबारे चर्चा गरेका थिए। उनीहरूले नेपाली समुदायको सक्रियता, सांस्कृतिक विविधता तथा समुदायबीचको सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा  एन्जा अष्ट्रेलियाका अध्यक्ष कृष्ण तिवारीले नेपालमा रहेको बहुभाषिक र बहुजातीय सभ्यतालाई अष्ट्रेलियामा चिनाउन निम्फाले गरेको योगदान अत्यन्तै सराहनीय रहेको बताए। उनले एन्जा अष्ट्रेलियाले नेपालका बहुभाषिक तथा बहुसांस्कृतिक समुदायका विषयवस्तुलाई समान रूपमा उठाउँदै सबै समुदायलाई बराबरी स्थान दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा निम्फाका पूर्व अध्यक्षहरू सुदर्शन थापा मगर, गणेश तामाङ, चित्राल तुम्बाहाङ्फे र अरुणकुमार तामाङ, नेपाली कला तथा साहित्य प्रतिष्ठानकी पूर्व अध्यक्ष सुजाता बस्नेत केसी, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ लगायत विभिन्न सामाजिक तथा सामुदायिक अगुवाहरूको सहभागिता रहेको थियो।कार्यक्रममा थकाली सेवा समिति, छन्त्याल परिवार अष्ट्रेलिया, गुठी अष्ट्रेलिया, मगर समाज अष्ट्रेलिया, तमु समाज सिड्नी, शेर्पा संघ न्यू साउथ वेल्स, किरात खम्बु राई समाज अष्ट्रेलिया, याक्थुङ चुम्लुङ अष्ट्रेलिया, राजवंशी समाज, थारु सोसाइटी सिड्नी लगायत विभिन्न जातीय तथा सामुदायिक संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै नेपाली अष्ट्रेलियन जर्नालिस्ट एसोसिएसन (एन्जा) लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, कलाकार तथा सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न आदिवासी कलाकार तथा सांस्कृतिक समूहलाई प्रमाणपत्र प्रदान गरिएको थियो। मौलिक नृत्य, संगीत, भेषभूषा तथा सांस्कृतिक प्रस्तुतिले अष्ट्रेलियामा रहेका नेपाली आदिवासी जनजाति समुदायको विविधता र सामूहिक पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।

अन्तर्राष्ट्रिय आदिवासी दिवसले विश्वभरका आदिवासी समुदायको अधिकार, पहिचान, भाषा, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि साझा आवाज उठाउने अवसर प्रदान गर्दै आएको छ। सिड्नीमा आयोजित यस कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपाली आदिवासी जनजाति समुदायबीचको एकता, सहकार्य, सांस्कृतिक विविधता र पहिचानलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *