बेलायतमा तनहुँ समाजको १९औँ वार्षिक कार्यक्रममा प्रेमराजा महत र “कौरा किङ” दुर्गा गुरुङले तताए स्टेज

लण्डन — तनहुँ समाज यूकेको आयोजनामा १९औँ वार्षिक भेटघाट तथा समर बार्बिक्यू कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लोकप्रिय गायक प्रेमराजा महत, दुर्गा गुरुङ लगायतका कलाकारहरूले सहभागीहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।

शनिबार बेलायतको अल्डरसटस्थित आल्डरवुड लिजर सेन्टरमा आयोजित कार्यक्रममा सहभागिता जनाउन अमेरिका निवासी गायक प्रेमराजा महत विशेष रूपमा बेलायत आएका थिए भने “कौरा किङ” भनेर चिनिने गायक दुर्गा गुरुङ नेपालबाट आएका थिए। यसका साथै नेपालबाट आएका कलाकारहरू रुपी सिन्जाली मगर र शर्मिला गुरुङ तथा बेलायतमै रहेका स्थानीय कलाकारहरूले पनि आकर्षक गायन र नृत्य प्रस्तुत गरेका थिए। कलाकारहरूको प्रस्तुतिमा सहभागीहरू रमाउँदै झुमेका थिए।

कार्यक्रमको औपचारिक सत्र समाजका अध्यक्ष सन्त गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव महेन्द्र आलेले गरेका थिए। उपाध्यक्ष निर्मला थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा रसमुर काउन्सिलका उपमेयर जीव बेल्बासे उपस्थित थिए। सम्बोधनका क्रममा उनले तनहुँसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै तनहुँ जिल्लाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको धारणा राखे।

कार्यक्रममा प्रायोजकहरू केशर गुरुङ, द पालेस रेष्टुरेन्ट, एभरेष्ट सुपरस्टोर र ए स्टार मोर्गेजेजलाई सम्मानपत्र प्रदान गरिएको थियो। साथै बेलायतमा आयोजित सुटिङ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका निश्चल थापा र डा. प्रकाश गौतमलाई पनि सम्मानित गरिएको थियो।

गत वर्ष प्रदान गर्न बाँकी रहेको उत्कृष्ट समाजसेवा सम्मान सल्लाहकार रन्जन मल्ललाई संरक्षक लेख गुरुङ र पूर्व अध्यक्ष केशर रानाले संयुक्त रूपमा प्रदान गरेका थिए।

सांस्कृतिक कार्यक्रमको संयोजन मनसुधन थापा र यम थापाले गरेका थिए। कार्यक्रममा स्थानीय कलाकार प्रकाश समालले गायन प्रस्तुत गरेका थिए भने माया थापा, यासिका थापा, रोनिसा आले, सविता राना, आर्चिता गौतम, रचना राना अधिकारी, नमश राना लगायतले नृत्य प्रस्तुत गरेका थिए। साथै कार्यक्रममा प्रत्यक्ष लोकदोहोरी र कौरा नृत्यसमेत प्रस्तुत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *