काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षा मन्त्री Dan Jarvis बीच ब्रिटिश गोर्खा सैनिकका माग र गुनासाबारे भर्चुअल छलफल भएको छ।
मङ्गलबार सम्पन्न उक्त छलफलमा लामो समयदेखि समाधान हुन नसकेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूको माग सम्बोधन गर्ने विषयमा गम्भीर कुराकानी भएको नेपालको परराष्ट्र मन्त्रालय ले जनाएको छ।
छलफलका क्रममा मन्त्री खनालले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धमा ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको लामो समयदेखिको समस्यालाई आपसी सहमतिमा यथाशीघ्र समाधान गर्न आग्रह गरेका छन्। उनले गोर्खाहरूले पुर्याएको योगदान, त्याग र बलिदानलाई मानवीय दृष्टिकोणबाट मूल्याङ्कन गर्दै उनीहरूका मागहरू न्यायोचित ढङ्गले सम्बोधन गर्न बेलायत सरकारसँग अपिल गरेका छन्।
मन्त्री खनालले नेपाल सरकार यो विषयलाई रचनात्मक ढङ्गले समाधान गर्न आवश्यक भूमिका खेल्न सदैव तयार रहेको पनि स्पष्ट पारेका छन्।
जवाफमा बेलायती रक्षा मन्त्री जार्विसले ब्रिटिश गोर्खाहरू बेलायती सेनाको एक अभिन्न अङ्ग रहेको उल्लेख गर्दै यो मुद्दालाई छिटोभन्दा छिटो टुङ्ग्याउनु आफ्नो सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
उक्त भर्चुअल छलफलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीको समेत सहभागिता रहेको थियो।
यसअघि पनि गत महिना दुवै मन्त्रीबीच यही विषयमा भर्चुअल संवाद भएको थियो। लामो समयदेखि ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकका माग पूरा गराउन बेलायतस्थित नेपाली दूतावासले निरन्तर पहल गर्दै आएको छ।






