एडिलेडमा ७औँ ओशिनिया नेपाली स्पोर्ट्स मिट–२०२७ को तयारी सुरु

 

एडिलेड। ओशिनिया क्षेत्रको सबैभन्दा ठूलो नेपाली खेलकुद महोत्सवका रूपमा परिचित ७औँ ओशिनिया नेपाली स्पोर्ट्स मिट–२०२७ को तयारी औपचारिक रूपमा सुरु गरिएको छ। आगामी सन् २०२७ मार्च २५ देखि २८ सम्म दक्षिण अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन दक्षिण अष्ट्रेलिया राज्य समन्वय समिति गठन गरिएको आयोजकले जनाएको छ।

एडिलेड नेपाली क्रिकेट एसोसिएसनका अध्यक्ष तथा प्रतियोगिताका संयोजक विजय जोशीका अनुसार ओशिनिया क्षेत्रभर रहेका नेपाली खेलाडी, खेलप्रेमी तथा समुदायलाई एउटै मञ्चमा जोड्ने, नेपाली पहिचानको प्रवर्द्धन गर्ने तथा दक्षिण अष्ट्रेलियाको खेलकुद क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यका साथ तयारी सुरु गरिएको हो।

प्रतियोगिताका लागि विजय जोशीको संयोजकत्वमा मुख्य कार्यसमिति गठन गरिएको छ। समितिको सह–संयोजकमा सन्तोष अधिकारी, कोषाध्यक्षमा दीपेशराज पाण्डे, आर्थिक संयोजकमा दिप्सन खड्का, मिडिया संयोजकमा बालगोपाल उपाध्याय, प्रायोजन संयोजकमा रेनुका लामा तथा सह–संयोजकमा रुपक बर्तौला चयन भएका छन्। त्यसैगरी डकुमेन्ट कन्ट्रोलरमा नवीन पन्त, मल्टिकल्चरल तथा कम्युनिटी संयोजकमा मञ्जु खड्का, लजिस्टिक संयोजकमा सन्तोषी गौतम, इभेन्ट व्यवस्थापन संयोजकमा पुष्कर कोइराला, आईसीटी सपोर्ट संयोजकमा मधुकर पौडेल, सांस्कृतिक संयोजकमा सीमा गुरुङ, मेडिकल संयोजकमा रक्षा शुक्ला, डिजिटल मिडिया तथा प्रचारप्रसार संयोजकमा सभा डिसी न्यौपाने, खेलकुद संयोजकमा थिर गुरुङ, स्वयंसेवक संयोजकमा अनुभव अधिकारी, कानुनी सल्लाहकारमा मोति नराल तथा सल्लाहकारमा सुपक अधिकारी रहेका छन्।

विभिन्न खेल विधाका लागि पनि छुट्टाछुट्टै संयोजक तोकिएको छ। क्रिकेटमा विकास सुवेदी, जुनियर क्रिकेटमा लक्ष्मी सापकोटा, फुटबलमा चिरु श्रेष्ठ, भलिबलमा प्रदीप खत्री, बास्केटबलमा रोश धमला, टेबल टेनिस तथा लन टेनिसमा नवीन कडेल, ब्याडमिन्टनमा जोभ अधिकारी, स्विमिङमा हिमाल कडेल, गल्फमा विशालमान श्रेष्ठ तथा ट्र्याक एण्ड फिल्डमा रमेश राजभण्डारीलाई जिम्मेवारी दिइएको छ। आयोजकले यस संस्करणको मूल नारा “हेरिटेजद्वारा एकजुट, खेलकुदद्वारा प्रेरित” तय गरेको छ भने प्रतियोगिताको मस्कटका रूपमा ‘कोआला’ सार्वजनिक गरिएको छ। दक्षिण अष्ट्रेलियाको पहिचानसँग जोडिएको कोआलाले एकता, मित्रता र आतिथ्य संस्कृतिको प्रतीकका रूपमा प्रतिनिधित्व गर्ने आयोजकको भनाइ छ।

यसैबीच, अष्ट्रेलियन प्यारालिम्पिक स्वर्ण पदक विजेता कट्रिना वेभलाई प्रतियोगिताको आधिकारिक सद्भावना दूत नियुक्त गरिएको छ। नेपालसँग लामो समयदेखि आत्मीय सम्बन्ध राख्दै आएकी वेभले सगरमाथा आधार शिविरको पदयात्रा गर्नुका साथै नेपालसँग सम्बन्धित विभिन्न नेतृत्व विकास तथा सामाजिक कार्यक्रमहरूमा समेत योगदान दिँदै आएकी छन्। आयोजकका अनुसार प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्य तथा न्युजिल्याण्डबाट करिब ७०० देखि ८०० नेपाली खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। यस खेलकुद महोत्सवले खेलकुद प्रवर्द्धनसँगै नेपाली समुदायबीच आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउनुका साथै दक्षिण अष्ट्रेलियाको पर्यटन, होटल व्यवसाय तथा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *