गोर्खाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्बाचित

लण्डन, २६ अप्रिल २०२६ — गोरखाली समाज यूकेको वार्षिक भेलाबाट टकमाया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको छ। यस अघि उहाँ लगातार तेस्रो कार्यकाल सम्म लगातार उपाध्यक्ष पदमा रहेर काम गर्नु भएको थियो।

अल्डरशटस्थित सुसिमोटो रेष्टुरेन्टमा सम्पन्न कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो। पहिलो चरणमा तत्कालीन अध्यक्ष हेमकुमार गुरुङको अध्यक्षतामा औपचारिक बैठक सम्पन्न भयो। कार्यक्रमको शुभारम्भ समाजका प्रमुख सल्लाहकार विष्णु तमाङ तथा बेलायत भ्रमणमा रहनुभएका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। त्यसपछि नेपाल र बेलायत दुवै देशका राष्ट्रिय गान बजाइएको थियो।

कार्यक्रमको सञ्चालन महासचिव गौतम गुरुङले गर्नुभएको थियो भने उहाँले सुरक्षा सम्बन्धी जानकारीसमेत प्रदान गर्नुभएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष टक कुमारी गुरुङले राख्नुभएको थियो। समाजको आर्थिक विवरण ट्रस्टी अशोक ढकालले प्रस्तुत गर्नुभयो।

प्रमुख सल्लाहकार विष्णु तमाङले समाजले हालसम्म गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ सुदृढ र प्रभावकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू दिनुभयो। पूर्व अध्यक्ष तथा सल्लाहकार कर्ण दर्लामी मगरले समाजमा रहेका केही कमजोरीहरू सुधार गर्दै सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै समाजका सल्लाहकार फटकजित गुरुग, निर्वाचन अधिकृत गणेश गुरुङ ले पनि आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो। अध्यक्ष हेमकुमार गुरुङले विगत दुई वर्षको विस्तृत समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालको समापन घोषणा गर्नुभयो र निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो।

निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत भरत रोका तथा निर्वाचन अधिकृतहरू विष्णु तमाङ, गणेश गुरुङ, अशोक ढकाल र राजकुमार गुरुङ ( नेपालमा रहनु भएकाले अनुपस्थित) रहनुभएको थियो।

प्रमुख निर्वाचन अधिकृत भरत रोकाले समाजप्रति निःस्वार्थ भावनाले सेवा गर्न सबैलाई आग्रह गर्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्नुभयो र नवनिर्वाचित कार्यसमितिको नामावली सार्वजनिक गर्नुभयो।

नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ:

अध्यक्ष: टकमाया गुरुङ

उपाध्यक्ष: हिमाला गुरुङ र राजेन्द्र गुरुङ

महासचिव: धन दर्लामी मगर

सचिव: मनबहादुर गुरुङ

कोषाध्यक्ष: यशोदा ढकाल न्यौपाने

सदस्यहरू: इन्दिरा दर्लामी, गंगा राना, होमाया गुरुङ, शकुन्तला गुरुङ, देव गुरुङ, विकास गुरुङ, मणिराज गुरुङ, गौतम गुरुङ, काजी गुरुङ, देव राना र विकास बिक

निर्वाचन प्रक्रिया अन्तर्गत प्रमुख निर्वाचन अधिकृत भरत रोकाले गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो भने निर्वाचन अधिकृत विष्णु तमाङले निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र तथा खादा प्रदान गरी सम्मान गर्नुभएको थियो। साथै निवर्तमान कार्यसमितिलाई पनि सम्मानसहित धन्यवाद ज्ञापन गरिएको थियो।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष टकमाया गुरुङले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोग, सल्लाह र सुझावलाई आत्मसात् गर्दै समाजलाई अझ सशक्त, एकताबद्ध र सक्रिय रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा समाजका सल्लाहकारहरू फाटकजीत गुरुङ, जगत थापा, कृष्ण दर्लामीलगायतको उपस्थिति रहेको थियो। साथै लिगलिग समाज यूकेका उपाध्यक्ष बमबहादुर आलेको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा उल्लेखनीय संख्यामा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

विशेष रूपमा महिला नेतृत्वमा अध्यक्ष चयन भएको यस अवसरलाई सहभागीहरूले ऐतिहासिक उपलब्धिका रूपमा लिँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *