युगले खोजेको नेता रवि र बालेन : सुजाता बस्नेत केसी

सिड्नी।अष्ट्रेलियालाई लामो समयदेखि कर्मथलो बनाउँदै आएकी नेपाली कला, संस्कृति तथा साहित्य क्षेत्रकी सक्रिय व्यक्तित्व सुजाता बस्नेत केसीले समसामयिक विषयवस्तुमा आधारित नयाँ कविता सार्वजनिक गरेकी छन्। नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानकी पूर्व अध्यक्षसमेत रहेकी बस्नेत केसी नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएकी छन्।

विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रममार्फत नेपाली समुदायमा सक्रिय उपस्थिति जनाउँदै आएकी उनले प्रवासमा नेपाली पहिचान जोगाउन महत्वपूर्ण योगदान दिएकी छन्। साथै विभिन्न संघसंस्थामा आबद्ध रहँदै उनले नेपाली भाषा र संस्कृतिलाई जोड्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी छन्। उनले समय–समयमा समसामयिक तथा सांस्कृतिक विषयमा लेख तथा रचना प्रस्तुत गर्दै नेपाली समाजलाई सचेत र एकताबद्ध बनाउने प्रयास गर्दै आएकी छन्।यसै क्रममा उनले नेपालको वर्तमान राजनीतिक तथा सामाजिक परिवेशलाई समेट्दै ‘रवि र बालेन’ शीर्षकको समसामयिक कविता रचना गरेकी छन्, जसले अहिलेको जनभावना र परिवर्तनको अपेक्षालाई अभिव्यक्त गरेको छ। प्रस्तुत छ उनको कविता:

युगले खोजेको नेता – रवि र बालेन

नेपालीले एकदिन पर्खिँदा पर्खिँदै
राजनीतिको पासा पल्टाइदिई
सिङ्गो नेपाल र नेपालीको
परिकल्पना पूरा गरेको छ।
तिमी भाषण र आश्वासन बेच्ने होइन,
आत्मीयता, सुशासन, समृद्धि रच्ने,
विकासको पत्थर उचाल्न सक्ने
हिम्मतशाली नेपालको नेता बन अब।

भोटले कमाएको कुर्सीलाई सिंहासन होइन,
सेवा गर्ने साधन मात्र ठान।
जनताको रोदन, वितृष्णालाई बोक्ने
जिम्मेवारीलाई आफ्नो काँध दिन
सक्ने बहादुर नेपालको नेता बन।

शहीदहरूको विडम्बना मृत्युलाई
बलिदानको कथा र इतिहासका
पानामा मात्र होइन,
नेपालीहरूको धड्कनमा,
गाउँ, जिल्ला र अञ्चलमा
रगतले लेखिएको युगको मागलाई
परिवर्तनको जवाफ दिन सक्ने
निडर नेपालको नेता बन अब।

कानुन किताब होइन,
सत्यतालाई समातेर जनताको हक र हितमा
वकालत गर्ने न्यायाधीश बन।
नेपाली समाजलाई शान्ति, सुव्यवस्थाको
राहत दिन सक्ने साँचो नेता बन।
डर, धम्की र त्रासको जरो तानेर
निडर, कर्मठ वीर गोर्खालीको पहिचान जोगाइराख्ने
नेपाली माटोको कसम खाने सपुत नेता बन अब।

दुःख–आपतको पीडामा मलम बनेर
जनताको आँसुलाई तिमीले
आफ्नो छाती दिने हिम्मती अस्पताल बन।
औषधि उपचार गरिदिने, गाउँ, टोल र बस्तीमा आवाज पुर्‍याउन सक्ने नेता बन।
प्राण बचाइदिने डाक्टर बन।
गरिबको भोकै पेटको बलिरहने चुलो बन।
खुट्टा नहुने आमा, नानी, बाबुहरूलाई आफ्नो खुट्टा बलिदान दिन सक्ने महात्यागी नेता बन।

वीर नेपालीहरूको शिर झुक्न नदिने,
सगरमाथा र गौतम बुद्धको उचाइलाई गर्वशील गराउने
वीर नेपालीको नेता बन।
तराईको श्रमलाई पूजा गर्ने महान नेता बन।

नदी, नाला र सीमाना रोई तिम्रो हात र साथ खोज्दै,
लिपुलेक अनि कालापानीको सीमा सन्धि मिलाउने नेता बन।
पटक–पटक नेपालको राजनीतिक युद्धमा
छाती बलिदान गरेका शहीदको सपना पूरा गर्ने सम्मानित नेता बन।

 भोलि आउने सन्तानले गौरव गर्ने उच्चस्तरीय कामको खम्बा बन।
इमानदारीको किताब र सच्चाइको किल्ला बन।
असल परियोजनाको नतिजा दिने बाटो, बिजुली, पानी र हजारौँ पुलहरू बन।
दलित भन्ने शब्दको अन्त्य गर।

 जातीय हिंसाको पिटाइ र दुःखाइको घाउले जलेको देशलाई निभाउने बारुणयन्त्र बन।
नेपाली छोरीहरूको बाँच्ने हक लुटिएको कथा होइन, शक्ति, सामर्थ्य दिने नेता बन।

 नेपाललाई सिङ्गापुर होइन, स्विट्जरल्यान्ड होइन,
नेपाललाई नेपाल नै बनाइदिने नेता बन।
भ्रष्टाचारको जरैदेखि निर्मूल पार्ने सिंह बन।
अब नेपाललाई सुन्दर, शान्त बनाउने
अनि बचाइराख्ने ऐतिहासिक नेता बन।

 रमणीय स्वर्गरूपी देश नेपाललाई
विश्व सामु शिर उच्च बनाउन सक्ने महान जनताको आदर्शवादी तिमी,
रवि र बालेन, देश नेपालको नेता बन अब।

Leave a Reply

Your email address will not be published. Required fields are marked *