तामाङ घेदुङ यूकेले भब्य रुपले मनायो सोनाम ल्होछार तथा २८६२ औं नयाँ बर्ष-

शिब भण्डारी
लन्डन ।बेलायतमा ऐतिहासिक एकताको सन्देशसहित तामाङ घेदुङ यूकेले २८६२ औं सोनाम ल्होछार सांगीतिक तथा सांस्कृतिक कार्यक्रम
भव्य रूपमा सम्पन्न भएको छ ।
पाँचवटा तामाङ समाजहरूको ऐतिहासिक एकतापछि गठित तामाङ घेदुङ यूके केन्द्रीय समितिको आयोजनामा मञ्जुश्री संवत् २८६२ औं ता–ल्हो (घोडा वर्ग) सोनाम ल्होछार-सांगीतिक तथा सांस्कृतिक कार्यक्रम शनिबार लन्डनमा भव्य रूपमा सम्पन्न भएको हो।
तामाङ सांस्कृतिक र धार्मिक विधा अनुसार लामा गुरु ज्युहरु द्वारा पूजा गर्दै १७ जनवरी २०२६ का दिन लन्डनको ह्यारोस्थित ह्यारो लिजर सेन्टरमा सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न सहरबाट आएका तामाङ समुदायका साथै अन्य नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा इंडियन आइडल विजेता तथा अभिनेता प्रशांत तमांगको निधनमा शोक व्यक्त गर्दै उहाँलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्; उहाँको निधनले संगीत र चलचित्र क्षेत्रमा, विशेषगरी नेपाली भाषी समुदायमा गहिरो शोक छाएको छ र उहाँको यादमा दुख व्यक्त गरेका थिए।
कार्यक्रम तामाङ घेदुङ यूकेका केन्द्रीय अध्यक्ष हरिसिंङ वाइबाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडी रहेका थिए।कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि तथा केन्द्रीय अध्यक्ष हरिसिं वाइबाले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
प्रमुख अतिथि कार्यवाहक राजदूत बिपिन दुवाडीले आफ्नो मन्तव्य दिँदै तामाङ समुदायले सबै संगठनलाई एउटै संस्थामा एकीकृत गरी देखाएको उदाहरणीय एकता प्रशंसनीय रहेको बताए।उनले तामाङ समुदायसहित सम्पूर्ण नेपालीहरूलाई सुख, स्वास्थ्य र सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै  तामाङ घेदुङ युकेका केन्द्रीय अध्यक्ष हरिसिं वाइबाले पाँचवटा संस्थाको ऐतिहासिक एकतापछि केन्द्रीय समितिको आयोजनामा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न भएको बताए। उनले यो कार्यक्रमले तामाङ समुदायको एकता, पहिचान,परम्परागत भेषभूषा र सांस्कृतिक गौरवलाई थप मजबुत बनाएको जिकिर गर्दै नयाँ वर्षको स्वागत गर्दै  नयाँ वर्षमा सुख, शान्ति तथा समृद्धिको कामना गरे।
कार्यक्रममा  विशेष अतिथिद्वय गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगर,हन्स्लो बरोका वर्तमान काउन्सिलर तथा पूर्व मेयर विष्णु गुरुङले तामाङ घेदुङ यूकेले देखाएको एकता सम्पूर्ण समुदायका लागि अनुकरणीय भएको बताए। कार्यक्रममा तामाङ घेदुङ यूकेका केन्द्रीय उपाध्यक्ष उदय कुमार घिसिङ स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रम संयोजक औपचारिक कार्यक्रम सञ्चालन केन्द्रिय सचिव विशाल स्याङ्बो तामाङले गरेका थिए ।कार्यक्रम संयोजक स्याङ्बो तामाङले उत्साहजनक उपस्थिति र सबैको सहयोगले कार्यक्रम ऐतिहासिक रूपमा सफल भएको लण्डन नेपाल न्युजलाइ बताए। उनले सोनाम ल्होछारको शुभकामना दिँदै सबै सहभागी तथा प्रायोजकहरूलाई धन्यवाद दिए।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम रोज लामा दिलिप तामाङ्ग प्रबिशा तामाङ्ग ले संचालन गरेका थिए।कार्यक्रममा चर्चित गायक अविनाश घिसिङ, योगेश लामा, कृष्ण पाख्रिनको सशक्त प्रस्तुति दर्शकको मुख्य आकर्षण बन्यो। साथै, स्थानीय कलाकारहरूको गायन,तामाङ सेलो नृत्य तथा मौलिक सांगीतिक प्रस्तुतिहरू तथा म्हेन्दो माया भाकामा आधारित नृत्यले हललाई उत्सवमय बनाएको थियो।
कार्यक्रममा गोर्खा क्यटरिङ्गको स्वादिस्ट विभिन्न परिकारका खाना, सांस्कृतिक नृत्य र प्रथम पुरस्कार १ तोला सुन रहेको भाग्योदय चिट्ठा समावेश गरिएको थियो। राफल ड्र ले सहभागीहरूमा उत्साह पैदा गरेको थियो।
बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको अन्त्यमा डिजे प्रज्वलमान गुरुङ र विशाल मोक्तानको धमाकेदार प्रस्तुतिले माहोललाई उत्साहपूर्ण बनाएको थियो।
बेलायतमा सक्रिय पाँच तामाङ संस्थाहरू—ल्हा म्हेन्दो तामाङ समाज, म्हेन्दो माया परिवार, तामाङ घेदुङ रेडिङ, तामाङ समाज यूके र तामाङ ह्युल्बा केन्ट एउटै उद्देश्य, एउटै आकांक्षा र एउटै पहिचानको सूत्रमा बाँधिँदै तामाङ घेदुङ यूके नामक एकीकृत केन्द्रीय समिति गठन गरी बेलायतमा तामाङ एकताको नयाँ यात्रा १३ जुलाई २०२५ मा भएको हो ।