सिड्नी । तामाङ सोसाइटी अफ सिड्नीको आयोजनामा तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसार सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ। तामाङ समुदायको मौलिक रीतिरिवाज, भेषभूषा तथा परम्परागत खानपान झल्किने गरी आयोजना गरिएको कार्यक्रममा सिड्नीस्थित नेपाली समुदायका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित न्यू साउथ वेल्सका वाणिज्यदूत सञ्जिव शर्माले विदेशमा बसोबास गर्ने नेपाली समुदायले आफ्नो कला, संस्कृति र पहिचान जोगाउन यस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक पहिचानसँग जोड्न ल्होसारजस्ता पर्व आवश्यक रहेको उल्लेख गरे।कार्यक्रमलाई थप आकर्षक बनाउँदै नेपालबाट आमन्त्रित चर्चित गायक निमा रुम्बाले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। त्यस्तै, स्थानीय कम्बरल्यान्ड काउन्सिलका प्रतिनिधि स्टिभ क्रिस्टोले सोनाम ल्होसारको शुभकामना व्यक्त गर्दै बहुसांस्कृतिक समाज अष्ट्रेलियाको सुन्दर पक्ष यस्ता कार्यक्रमहरू भएको बताए।
कार्यक्रममा निम्फाका अध्यक्ष लक्ष्मण गुरुङ, पूर्व अध्यक्ष सुदर्शन थापामगर, तामाङ सोसाइटीका पूर्व अध्यक्ष विशाल तामाङ लगायतका वक्ताहरूले सोनाम ल्होसारको सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पारे। संस्थाका संस्थापक तथा सल्लाहकार अरुण तामाङले जातीय पहिचानप्रति चासो बढेसँगै विदेशमा पनि यस्ता पर्वहरूको महत्व थप बढ्दै गएको बताए। संस्थाका अध्यक्ष राज पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कलाकारहरूले तामाङ सेलो नृत्य प्रस्तुत गर्दै माहोललाई अझ जीवन्त बनाएका थिए। कार्यक्रमका मुख्य आकर्षण गायक निमा रुम्बाले प्रस्तुत गरेका एक दर्जनभन्दा बढी लोकप्रिय गीतमा दर्शकहरू झुमेका थिए।






