भिक्टोरियामा सोनाम ल्होछार २८६२ को भव्य तयारी

मेलबर्न, भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष सोनाम ल्होछार २८६२ (घोडा वर्ग) लाई स्वागत गर्न भव्य तयारी थालेका छन्। तामाङ सोसाइटी अफ भिक्टोरियाको आयोजनामा आगामी शुक्रबार, जनवरी २३ का दिन ब्रडमिडोज टाउन हलमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

संस्थाकी अध्यक्ष बबी लामाले कार्यक्रम सम्पूर्ण समुदायका लागि निःशुल्क रहने जानकारी दिँदै सबैलाई परिवारसहित उपस्थित भई आपसी एकता र सद्भावका साथ सोनाम ल्होछार मनाउन आग्रह गर्दै  सोनाम ल्होछार केवल पर्व मात्र नभई तामाङ समुदायको पहिचान, संस्कृति र एकताको प्रतीक रहेको बताइन।

कार्यक्रममा तामाङ समुदायको मौलिक कला र संस्कृतिलाई झल्काउने डाम्फुको तालमा आधारित नृत्य तथा गायन प्रस्तुत गरिनेछ। साथै विभिन्न बहुसांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकले जनाएको छ। यस अवसरमा नेपाली परिकारहरू पनि खरिदका लागि उपलब्ध रहनेछन्।सांगीतिक कार्यक्रमअन्तर्गत मेलबर्नका गायक दिल तामाङ, रोजिना तितुङलगायत अन्य स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गर्दै उनीहरूको सिर्जनशीलता र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको तामाङ सोसाइटी अफ भिक्टोरियाले जनाएको छ।

सोनाम ल्होछार २८६२ लाई सफल र स्मरणीय बनाउन तामाङ सोसाइटी अफ भिक्टोरियाले सम्पूर्ण तामाङ समुदाय तथा बहुसांस्कृतिक समुदायलाई कार्यक्रममा उपस्थित भई संयुक्त रूपमा नयाँ वर्षको स्वागत गर्न आग्रह गरेको छ।