गुल्मी जिल्ला समाज युकेले जिल्लाका अशक्त, असहाय तथा सामाजिक संस्थालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । अपाङ्गता दिवसको अवसरमा बेलायत (युके) मा सङ्कलन गरिएको उक्त सहयोग रकम मंगलबार एक कार्यक्रमबीच सदरमुकाम तम्घासमा वितरण गरिएको हो ।

समाजबाट इस्मा गाउँपालिका–३ की ४२ वर्षीया बिना नेपालीले ५० हजार रुपैयाँ सहयोग प्राप्त गर्नुभएको छ । सानै उमेरदेखि दुवै खुट्टा र दायाँ हात चल्न नसक्ने समस्या भएकी उहाँ उपचार गर्दा पनि निको हुन नसकेको बताउनुभयो । “काम गर्न नसकेर घरमै बस्नुपर्छ, यस्तो अवस्थामा सहयोग पाउँदा ठूलो राहत मिलेको छ,” उहाँले भन्नुभयो । उहाँलाई आशा अपाङ्ग केन्द्र गुल्मीको समन्वयमा सहयोग प्रदान गरिएको हो । केन्द्र मार्फत उहाँको घरमा अपाङ्गमैत्री शौचालय र खानेपानीको समेत व्यवस्था मिलाईएको छ ।

यस्तै गुल्मीदरबार गाउँपालिका–५ का २४ वर्षीय रविन राना दुर्घटनापछि स्पाइनल कट (घाँटीको मेरुदण्ड) सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ । आर्थिक अभावका कारण उपचार गर्न नसक्नु भएका रानालाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरिएको छ । सहयोग रकम उहाँका बुबा नेत्रबहादुर राना मार्फत हस्तान्तरण गरिएको हो ।
गुल्मी जिल्ला समाज युकेले सत्यवती बहुमुखी क्याम्पसलाई एक लाख, आशा अपाङ्ग केन्द्रलाइ एक लाख, रेडियो पुष्पाञ्जलीलाई ५० हजार र रुरुक्षेत्र अटिजम पाठशालालाई ५० हजार रुपैयाँ सहयोग गरेको हो । त्यसैगरी सत्यवती गाउँपालिका–४ का अशक्त ईश्वर शर्मा, अनुज ज्ञवाली, इस्मा गाउँपालिका–३ की बिना नेपाली र गुल्मीदरबार–५ का नेत्रबहादुर रानालाई जनही ५० हजार रुपैयाँ सहयोग गरिएको गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापा मगरले जानकारी दिनुभएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विदेशमा रहेर पनि स्वदेशमा अशक्त, असहाय र पीडितलाई सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापाले आगामी दिनमा नगद सहयोगसँगै सीपमूलक तालिम र अक्षयकोष स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो ।

आशा अपाङ्ग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेले गुल्मी जिल्ला समाज युकेले विगतदेखि नै निरन्तर सहयोग गर्दै आएको बताउँदै गुल्मी जिल्ला समाज युके र सबै सहयोगी मनहरुप्रति आभार प्रकट गर्नुभएको थियो । यस अघि युकेमा रहेको प्रथम नौमती बाजा समूह गुल्मीले पनि आशा अपाङ्ग केन्द्रलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।






