इन्फा अवार्डका लागि लण्डन उडे दर्जनौ कलाकार

लन्डन । आगामी शनिवार “दोश्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२५” हुने भएको छ।

१५ नोभेम्बर शनिबार सांझ लन्डन ग्रीनफोर्ड टाउन हलमा नेपाली फिल्म र फिल्मकर्मीहरुको महाउत्सव हुन लागेको इन्फा इभेन्ट्स यूकेले जनाएको छ ।

नेपालका चर्चित कलाकारहरुको उपस्थितिमा अवार्डस्, सम्मान र पुरस्कार वितरण समारोह गरिने आयोजकको भनाइ छ ।

यसअघि यो समारोह १३ सेप्टेम्बरका लागि तय गरिएपनि नेपालमा जेन जी आन्दोलनका कारण स्थगित गरिएको थियो।

इन्फा अवार्ड समारोहका लागि नेपालबाट कलाकारहरु प्रदीप खड्का, दीपकराज गिरीदेखि केकी अधिकारी, नीता ढुंगाना, केदार प्रसाद घिमिरे, जितु नेपाल, मिलन चाम्स, महेश त्रिपाठी लगायत आज लण्डन उडेका छन् भने अरु कति
आइपुगे र बाकी आउदै छन् ।

इन्फा अवार्ड समारोहका लागि दीपकराज गिरी, दीपाश्री निरौला, गौरी मल्ल, केदार घिमिरे, जीतु नेपाल, प्रदीप खड्का, रमेश बुढाथोकी, एन्जिला तुम्बापो सुब्बा, दिव्या रायमाझी, तेरिया राना मगर, केकी अधिकारी, निता ढुंगाना, विजय बराल, समर्पण लामा, डान्सर अलिसा शर्मा, कविता नेपाली, उषा उप्रेती, दिया मास्के, ऋचा घिमिरे, मलिना जोशी, उपासना सिंह ठकुरी, मिलन चाम्स, रिहान गिरी, प्रमोद अग्रहरी लगायत तीन दर्जन कलाकार लन्डन आउने  छन् ।

कलाकारहरु नोभेम्बर ११ तारिखदेखि लन्डन आउन शुरु हुने र धेरैजसो १३ र १४ तारिख आइपुग्ने जनाइएको छ । नेपालका ख्यातिप्राप्त कलाकारहरूबाट एउटै स्टेजमा गायन, हास्यव्यङ्ग्य, नृत्य लगायत अनेकौं आकर्षक प्रस्तुति रहने इन्फा यूकेले जनाएको छ ।

कार्यक्रममा ५५ वटा फिल्ममध्येबाट २७ विद्यामा अवार्ड दिइने आयोजकले जानकारी दिए । गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापा आवद्ध जुरीले विभिन्न विद्यामा फिल्म छनोट गरेका हुन् ।

यसपटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयांसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइने छ ।

दोश्रो इन्फा अवार्ड गर्न बेलायतबाट उमेशराज मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिषराज पन्त एवं नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी र मनिष कार्की जुटिरहेका छन् ।

नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले अवार्ड कार्यक्रम गर्न लागिएको इभेन्ट प्रमुख संयोजक उमेश मोक्तानले बताए । उनले निकै ठूलो मेहनतका साथ कार्यक्रम गर्न लागिएकाले हलसम्म आएर कलाकारहरु एवं आयोजकलाई हौसला दिन अपिल गरेका छन् ।
इभेन्टको मुख्य प्रायोजक एभरेष्ट एभरकनका सञ्चालक मिलन भट्टराई छन् ।
इभेन्टमा प्रवेश शुल्क २०, ३० र ५० पाउण्ड एवं भिभिआइपीका लागि १०० पाउण्ड राखिएको छ । भिभिआइपी टिकेट लिए अर्को दिन कलाकारहरुसँग ‘मिट एण्ड ग्रीट’ मा समेत सहभागी हुन पाइने आयोजकले जनाए ।