शिव भण्डारी
लण्डन । गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकारसँग भूपू गोर्खाहरुलाई समान पेन्सन र समान अधिकारको लागि लामो समयदेखि गरिरहेको आन्दोलनबाट प्राप्त भएका र प्रतिबद्धता भएका अधिकार उपलब्धिहरुको बारेमा जनकारी गराउने भएको छ ।
अल्डरशटको एम्पायर हलमा शनिवार विहान साढे १० बजेदेखि साँझ साढे ६ बजेसम्म एक विशेष कार्यक्रम आयोजना गरी भुपू गोर्खाहरुले हालसम्म भए गरेका उपलब्धिहरुको बारेमा जानकारी गराउने भएको हो ।
अगष्टमा महिनामा ज्ञानराज राई, धन गुरुङ र पुष्पा घलेले संघर्ष समितिको तर्फबाट १३ दिने भोक हड्ताल गरेका थिए । हड्तालको १३ औँ दिनमा रक्षामन्त्री सहितको टोलीले जुस खुवाएर अनशन तोडाइएको थियो भने एक महिना भित्रमा मागहरु सम्बोधनको काम अघि बढाउने बताइएको थियो ।

यस विषयमा बेलायत सरकार, लण्डनमा रहेको नेपाली दूतावास, संघर्ष समिति तथा एनआरएनए यूकेवीच छलफल तथा समन्वय भइरहेको छ भने केही दिन अघि समान पेन्सनको माग सम्बोधन गर्न बेलायत सरकार तयार भएको पत्र एनआरएनए यूकेलाई आएको थियो ।
यी विषयमा भएका प्रगतिहरुको बारेमा जानकारी गराउन र नेपाल र बेलायत सरकारको ध्यानाकर्षण समेत गराउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले लण्डन नेपाल न्यूजलाई बताए ।
१३ दिनसम्म भोकै बसेका अभियन्ता ज्ञानराज राईले आजसम्म आन्दोलनको क्रममा भएगरेका सबै जानकारी आजको कार्यक्रममा दिइने बताए । त्यस्तै सचिव धन गुरुङले आफूहरुले १३ दिनसम्म अनशन बसेपछि सरकारले गरेको प्रतिबद्धता पालना गराउने गरी अघि बढको लण्डन नेपाल न्यूजलाई बताए ।

त्यस्तै अनशन बसेकी अर्की अभियन्ता पुष्पा घलेले सरकारबाट आफूलाई अधिकार स्थापित गर्नको निम्ती निरन्तर लडिरहने बताइन् । आमरण अनसन बसेका अरु दुई गोर्खा सैनिकहरु ज्ञानराज राई र धनबहादुर गुरुङसँग शुरुवातदेखि अन्त्यसम्म अविचलित रही पुष्पा राणा घलेले गोर्खा महिला पनि कमजोर छैनन् भन्ने साबित गरेकी छिन् ।
बेलायती प्रधानमन्त्री कार्यालयअघि १३ दिन आमरण अनसन बस्ने साहसी नेपाली महिलाको रुपमा उनले पहिचान स्थापित गरेकी छिन् । कार्यक्रममा समान पेन्सन समान अधिकारको बिषयमा भइरहेका प्रगतिबारे जानकारी गराउने उनले बताए । प्रगतिबारे सत्याग्रह संघर्ष समितिका प्रवक्ता मेजर जुद्ध बहादुर गुरुङले विशेष सम्बोधन गर्ने भएका छन् ।
त्यस्तै आन्दोलनको अग्रमोर्चामा रहेका भुपु गोर्खालीहरुले पनि सम्बोधन गर्ने भएका छन् । २३ साउनबाट शुरू भएको अनशन गोर्खा मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरी उनीहरूका समस्या समाधान गर्ने लिखित प्रतिवद्धता जनाएपछि १३ औँ दिनमा तोडिएको थियो ।

बेलायती रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनशनस्थल पुगेर सत्याग्रहीहरूलाई जुस पिलाएर अनशन तोडाएका थिए । गोर्खालीहरुको आन्दोलनमा बेलायतका भेट्रानहरू, विभिन्न राजनीतिक दल तथा नेता र आम समुदायले समेत उनीहरूका मागप्रति व्यापक रुपमा समर्थन जनाएका छन्।
उक्त सम्बोधन कार्यक्रम लण्डन नेपाल न्यूजले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।






