लन्डन । नेपलिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले नेपालीहरूको महान् पर्व दशैं–२०८२ अवसरमा विशेष सामुदायिक भेटघाट तथा स्वास्थ्य जाँच कार्यक्रम आयोजना गर्ने भएको छ।
नेशनल लटरीको सहयोगमा आयोजना हुने सो कार्यक्रम आगामी सेप्टेम्बर २८ आइतबारका दिन साउथ ह्यारो फुटबल क्लवमा हुनेछ। दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीलाई सांस्कृतिक आत्मीयता आदानप्रदानसँगै स्वास्थ सम्बन्धी जन चेतना फैलाउने उदेश्य सहित स्वास्थ्य परीक्षण सुविधा उपलब्ध गराइनेछ। स्वास्थ्य जाँच कार्यक्रम नर्सिङ एसोसिएसन यूकेको सहकार्यमा सञ्चालन हुने बताइएको छ।
एनबीसी–यूकेका अध्यक्ष समिर नाथ प्याकुरेलले यसपटकको दशैं विशेष कार्यक्रमलाई ‘समुदाय, संस्कृति र स्वास्थ्यको संगम’का रूपमा प्रस्तुत गर्न लागिएको जानकारी दिए। कार्यक्रममा मनोरञ्जनात्मक गतिविधिसँगै नेपाली खानपानको स्वाद समेत सहभागीले लिन सक्ने उनले बताए।
संस्थाका सचिव दामोदर आचार्यले एनबीसी–यूकेले समुदायलाई एक ठाउँमा ल्याउने उद्देश्यसहित निरन्तर विभिन्न सामाजिक, सांस्कृतिक र शैक्षिक कार्यक्रमहरू गर्दै आएको उल्लेख गर्दै दशैं–२०८२ विशेष कार्यक्रमले आपसी भेटघाट, स्नेह आदानप्रदान र स्वास्थ्य सचेतनामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा १८ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिले १० पाउन्ड योगदान गर्नुपर्नेछ भने १८ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका वरिष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइनेछ।
एनबीसी यूकेले नेपाली समुदायलाई परिवारसहित उपस्थित भई सांस्कृतिक एकता र स्वास्थ्य सचेतनाको यो उत्सव सफल बनाउन हार्दिक आमन्त्रण गरेको छ।






