लन्डन । नेपालमा जेन जी आन्दोलनका क्रममा सहिद बनेका युवाहरूको स्मृति तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै बेलायतका नेपालीहरुले श्रद्धान्जली अर्पण गरेका छन् ।
मंगलबार सांझ सेन्ट्रल लन्डनस्थित ट्राफलगर स्क्वायरमा आयोजित स्मृति सभामा रेल हड्ताल बाबजुद सयौं नेपाली स्वतस्फूर्त सहभागी भएर दीप प्रज्वलन गरि दिवंगत आत्माप्रति श्रद्धान्जली अर्पण गरे । साथै, उनीहरुले शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् ।
नेपाली झण्डा छेउमा राखेर दीप प्रज्वलन गर्दै सहभागी करिब तीनसय जनाले प्रदर्शनका क्रममा ज्यान गुमाएका जेन जी पुस्ताप्रति श्रद्धान्जली अर्पण गरेका थिए ।
सहभागीले आन्दोलनको दोश्रो दिन मंगलबार भएको सार्वजनिक सम्पतिमा आगजनी र तोडफोडको समेत विरोध गर्दै संयमता अपनाएर अब नयां नेपाल निर्माण अभियानमा सरिक हुन अपिल गरे ।

उक्त कार्यक्रमको संयोजन महिला अभियन्ता प्रसुना कंडेलले गरेकी हुन् । ‘शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले गरेको युवाहरुको हत्या कदापी स्वीकार्य होइन्’, कंडेलले भनिन्, ‘त्यसको विरोध गर्दै दिवंगतप्रति श्रद्धान्जली अर्पणका लागि कार्यक्रम गर्न अग्रसर भएं । म सहभागी सबैप्रति आभारी छु ।’
उनले अब तोडफोड र आगजनी छाडेर युवालाई नयां नेपाल निर्माणको अभियानमा जोडिन पनि आग्रह गरिन् ।






