लन्डन। बेलायतको स्वीन्डनस्थित नेपालीहरूको संस्था नेपलिज एसोसिएसन अफ वील्सायरले २०२५ अगस्ट ३१ तारिखका दिन स्वीन्डनको जीडब्लुआर पार्कमा एक भव्य नेपाली साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रममा विभिन्न १० जात जातिले आ-आफ्नो भेषभूषा सहित नेपाली कला संस्कृति प्रदर्शन गरेका थिए । सो अवसरमा नेपाली परम्परागत नृत्य, बहुसांस्कृतिक प्रस्तुतीहरू, नेपाली पर्यटन प्रवर्द्धन गर्ने स्टलहरू, बालबालिकाका लागि रमाइला खेलकुद तथा झुला, स्वादिलो नेपाली खाना तथा विभिन्न व्यापारिक स्टलहरू राखिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथी र संस्थाका अध्यक्षले एकै पटक तीनवटा पानसमा मैनबत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, पर्यटन तथा सामुदायिक गतिविधिहरूको आकर्षक प्रदर्शन गरिएको थियो।
संस्थाका अध्यक्ष राजन मल्लले कार्यक्रममा नेपाली संस्कृति र समुदायको पहिचानलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै यसपटकको कार्यक्रम विशेष, अविस्मरणीय र ऐतिहासिक बनेको बताए।
कार्यक्रममा प्रमुख अतिथि लण्डन स्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले स्वीन्डनमा नेपाली कला संस्कृति,भेषभूषा देख्दा आफू ज्यादै प्रभावित भएको उल्लेख गर्दै खुशी पनि व्यक्त गरे ।
कार्यक्रम संयोजक तथा संस्थाका पूर्व अध्यक्ष ज्ञान प्रसाद गुरुङ्गले लन्डन नेपाल न्युजसँग कुरा गर्दै बेलायत जस्तो बहुसांस्कृतिक समाजमा नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नु आवश्यक रहेको बताए । उनले यस्ता कार्यक्रमले नेपाली समुदायबीचको एकता बलियो बनाउने धारणा राखे।
कार्यक्रममा विशेष अतिथिमा स्वीन्डन बरो काउन्सिलका मेयर फे होवार्डको विशेष उपस्थिति रहेको थियो। उनले नेपाली समुदायको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले समुदायबीचको आपसी सद्भाव र समझदारीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिन्।
कमल गुरुङ,.बबिता,यमुना र निश्चलले संचालन गरेको ‘नेपलिज एसोसिएसन अफ वील्सायर’ द्वारा आयोजना गरिएको कार्यक्रम निःशुल्क प्रवेश सहित सम्पन्न भएको थियो। नेपाली समुदायका साथै स्थानीय ब्रिटिश नागरिक र अन्य अन्तर्राष्ट्रिय समुदायको उल्लेखनीय उपस्थिति देखिएको कार्यक्रममा नेपाली सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा सहभगी हरुलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । 
































