लन्डन ! गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा रहेको समितिमा बाग्लुंग बिहू स्थित अमर माध्यमिक विद्यालयबाट एकै साथ माध्यमिक शिक्षा हासिल गरेका लीलाराम निउरे, राम प्रसाद कँडेल र पूर्णश्वर कँडेल अब प्रवासी नेपालीहरूको छाता संस्था एनआरएनए यूकेको आगामी कार्यसमिति (२०२५–२०२७) को नेतृत्वमा पुग्न सफल भएका छन्। 
तीनै जना लामो समयदेखि बेलायतमा स्थायी बसोबास गर्दै रेष्टुराँ व्यवसायमा क्रियाशील रहँदै आएका छन्। एनआरएनए यूकेको तर्फबाट हालै सम्पन्न निर्वाचनमा उनीहरूले विभिन्न पदमा प्रतिनिधित्व गर्दै निर्वाचित भएका हुन्।
पूर्णश्वर कँडेल एनआरएनए नर्दन आयरल्याण्डमा निर्विरोध अध्यक्ष निर्वाचित हुँदा लीलाराम निउरे एनआरएनए नर्दन आयरल्याण्ड यूकेमा निर्विरोध उपाध्यक्ष निर्वाचित भएका छन् भने राम प्रसाद कँडेल एनआरएनए स्कटल्याण्डको उपाध्यक्षमा निर्वाचित भएका छन्।
यो संयोग मात्र होइन—देशको एउटै ग्रामीण विद्यालयबाट शिक्षा लिएर विदेशी भूमिमा पुगेका तीन युवाहरू अहिले पुनः एउटै उद्देश्यका लागि एउटै संस्थाको नेतृत्वमा संगठित हुनु आफैंमा प्रेरणादायी रहेको छ ।
एनआरएनए नर्दन आयरल्याण्डमा निर्विरोध अध्यक्ष निर्वाचित पूर्णश्वर कँडेलले बेलायतका चारै प्रान्तमा रहेका नेपाली समुदायलाई एउटै धागोमा गाँस्ने, ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउने र दोहोरो नागरिकताका लागि नेपाल सरकारलाई दबाब दिन आफूहरू क्रियाशील हुने बताए । उनी भन्छन्- ‘ फुटेर होइन, जुटेर। एक्लो आवाज होइन, सामूहिक आवाजका लागि हामी एनआरएनएमा लागेका हौं।”
एनआरएनए नर्दन आयरल्याण्ड यूकेमा निर्विरोध उपाध्यक्ष निउरेले एनआरएनए यूकेको विवाद समाधान गर्दै संस्थालाई एक ढिक्का राख्न आफूहरू क्रियाशील हुने बताए ।
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका कँडेलले १२ वर्षसम्म आफैंले अध्ययन गरेको विद्यालयमा अध्यापन गरेका थिए। पछि बेलायत आएर Cardiff Metropolitan University बाट एमबीए गरेका उनले सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निभाउँदै आएका छन्। हाल उनी नेपाली कम्युनिटी नर्दन आयरल्यान्डका अध्यक्ष समेत हुन्।
एनआरएनए यूकेको पछिल्लो निर्वाचनले अमर मावि, बिहुँका यी तीन विद्यार्थीलाई प्रवासी नेपालीको साझा संगठनमा एउटै कार्यकालमा योगदान दिन मिल्ने अवसर दिएको छ। विद्यालयको साझा स्मृति बोकेका यी तीन जनाले अब प्रवासी नेपालीहरूको साझा भविष्य निर्माणमा हातेमालो गर्दै अगाडि बढ्ने दृढता व्यक्त गरेका छन्।
को हुन् लिलाराम निउरे ?
बाग्लुङको ताराखोला गाउँपालिकामा जन्मिएका लिलाराम निउरे हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषदमा नर्दन आयरल्यान्डबाट निर्विरोध उपाध्यक्षमा चयन भएका छन्। भारत र गल्फ मुलुकहरूमा वैदेशिक रोजगारीको अनुभव बोकेका निउरे सन् २००५ देखि बेलायतमा बसोबास गर्दै रेष्टुरेन्ट व्यवसायमा संलग्न छन्। लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय रहँदै आएका उनले राज्य परिषदको अवधारणा विकासमा नेतृत्वदायी भूमिका खेलेका छन्।
एनआरएनए नर्दन आयरल्यान्डका संस्थापक अध्यक्ष रहिसकेका निउरे सामाजिक अभियानहरूमा पनि सक्रिय छन्। उनी नेपाली कम्युनिटी नर्दन आयरल्यान्डका पूर्वअध्यक्ष तथा नेप्लिज सेफ एशोसिएसन यूकेको संस्थापक अध्यक्ष समेत हुन्। एनआरएनएलाई विवादमुक्त, सबल र समावेशी बनाउँदै दोहोरो नागरिकताको व्यवस्था, युवाको सहभागिता र भाषा-संस्कृतिको प्रवर्द्धनमा जोड दिने उनको प्रतिबद्धता छ।






