लन्डन-लण्डनमा नेपालकै पहिलो पर्यटन गाउँ स्याङ्जाको सिरुबारी गाउँका बासिन्दाहरूको वार्षिक भेला भव्य रूपमा सम्पन्न भएको छ।
यसैबीच डेभिड गुरूङको अध्यक्षतामा सिरुबारी प्रथम पर्यटकीय गाउँ युकेको कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा नवराज गुरूङ र धनबहादुर गुरूङलाई सचिवमा चयन गरिएको छ ।
२९ जुन आइतबार साउथ इस्ट लण्डनको प्लमस्टिड कमनमा भेला भएको हो ।
भेलामा गाउँघरको संस्कार, रीतिथिति जगेर्ना र परदेशमा भावी पुस्तालाई हस्तान्तरण एवं आफ्नो पुर्खौली गाउँ र त्यस भेगलाई कसरी माथि उकास्न सकिन्छ भन्नेबारेमा वृहत छलफल भएको थियो ।
सिरुबारीका क्या. मोहन गुरुङ र सुवर्ण गुरुङको सहजीकरणमा भएको उक्त भेलामा लण्डनको व्यस्तताबीच सिरुबारीवासीहरू उत्साहपूर्वक एकत्रित भएका थिए ।

गुरूङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि संसारभर ख्याती कमाएको गाउँ हो–सिरुबारी।
सिरुबारी अर्थात् नेपालको पहिलो पर्यटन गाउँ। होमस्टे पर्यटनको पाठशाला पनि। गाउँमा सामुदायिक जङ्गल, गुम्बा, सङ्ग्रहालय र ग्रामीण पर्यटनका सूत्रधार क्याप्टेन रुद्रमान गुरुङको सालिकलगायत सम्पदा छन्।






