लन्डन। बेलायतमा रहेका नेवार समुदायको साझा गुठी पासा पुचः गुठी यूकेले आफ्नो २५ औं वार्षिकोत्सव तथा लन्डन इन्द्रजात्रा : नेवा मुना २०२५ भव्य रूपमा मनाउने तयारी गरेको छ।
लन्डन फेल्थामस्थित स्प्रीङवेष्ट एकेडेमी प्राङ्गणमा आउंदो १६ अगष्ट मध्यानह १२ देखि सांझ ७ बजेसम्म इन्द्र जात्रा गर्न लागिएको आयोजकले शनिबार एक पत्रकार सम्मेलनमार्फत जनाएका हुन्।
मिडिया संयोजक एवं लन्डन च्याप्टरकी कल्चरल सेक्रेटरी आस्था जोशी बटाजुले कार्यक्रम संचालन गर्दै नेपाली कला संस्कृति झल्काउने आफूहरुको प्रयास भएको बताउंदै कार्यक्रमलाई नयाँ उचाइमा पुराउन सबैको साथ आवश्यक रहेको बताएकी छिन्।
पत्रकार सम्मेलनमा पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले लन्डन इन्द्रजात्रालाई प्रमुख प्राथमिकताका साथ सफल बनाउने बताए। उनले मौलिक जात्राको रुपमा विकास गर्ने उद्देश्यसहित जात्रा गर्न लागिएको बताए ।नेपालको संस्कृतिबाट सिकेर लन्डनमा आफ्नै शैलीको जात्रा गरिने बताए।बताए ।
जात्रा संयोजक एवं गुथिका पूर्व अध्यक्ष तथा हाल संरक्षक ओजेश सिंहले २५ औं वार्षिकोत्सवको अवसरमा लन्डन इन्द्र जात्रा गर्न लागिएको बताए।लन्डन इन्द्र जात्राले एउटा जात जातीको मात्र होइन, साउथ इष्ट एसिया क्षेत्रकै प्रतिनिधित्व गर्ने उल्लेख गराउंदै सिंहले गैर नेपालीलाई पनि नेपाल चिनाउने अवसरका रुपमा जात्रालाई लिइएको बताए ।
पासा पुचः गुथि लन्डनकी अध्यक्ष रुकमणी मानन्धरले सबैलाई जात्रामा आएर नेवा कला संस्कृतिमा रमाइलो गर्न अनुरोध गरिन् ।
गुथिको बोर्ड अफ ट्रष्टी महासचिव प्रजेश श्रेष्ठले अनलाइन र प्रत्यक्ष टिकट किन्न सकिने जनाउंदै १० पाउण्ड नर्मल भएपनि जुन महिनाभित्र एडभान्समा काटे जम्मा ५ पाउण्डमा पाइने बताए । स्पोन्सर गर्न चाहनेका लागि ७ वटा क्याटेगोरिज राखिएको समेत श्रेष्ठले जनाए ।
सो अवसरमा साउथ इष्ट लन्डन च्याप्टरका अध्यक्ष सुरोज मास्के र बोर्ड अफ ट्रष्टी सदस्य सुमन महर्जनले जात्रामा सबै नेपालीलाई सहभागी भइदिन अपिल गरे।
इन्द्र जात्रामा कुमारी, भैरव र गणेशको रथ तानिने एवं ति तीन रथहरुमा जिवित देवी कुमारी र देवताहरु गणेश र भैरवलाई पनि विधिपूर्वक प्रतिस्थापन गरि परिक्रमा गरिने आयोजकको तयारी छ ।
रथ बनाउने र तान्ने शैली नेपालकै जस्तो हुनेछ । विगत दुईमहिनादेखि रथहरु बनाउने काम भइरहेको छ । लाखे महोत्सव पनि गरिने आयोजकले जनाएका छन् जसमा विनोद चिपालुले विशेष लाखे प्रदर्शन गर्ने योजना छ । त्यस अवसरमा हाथु द्योः बाट रक्सीसहित समेंबजि डों (प्रसाद) बांड्ने कार्यक्रम पनि छ ।
सो अवसरमा धिमे, ढा, खिं, बांसुरी लगायत कयौं बाजा पनि प्रस्तुत गरिनेछ । गुथिका विभिन्न च्याप्टरमा विगत ९ महिनादेखि धिमे बाजा प्रशिक्षण भइरहेको छ ।कयौं लाखे नाच, कुमारी नाच, मन्जुश्री नाच, भैरवगण नाच, हुलां प्याखः, धिमे प्याखः आदि प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।
सो अवसरमा व्यापारिक र खानाका करिब दुई दर्जन स्टल, फेस पेन्टिंग, च्यारिटीका स्टल आदि पनि रहने आयोजकले जनाए । पासा पुच गुथि यूकेले उक्त कार्यक्रममा सहभागी भइ इन्द्र जात्रा हेर्न सबै समुदायलाई आग्रह गरेको छ।






