लण्डन उडे मगर संघ यूकेको नेपाली ओपन कन्सर्टमा धमाका दिन खेम सेन्चुरी अन्जु पन्त र विजय मगर- नेपाली ओपन कन्सर्ट जुन १४ शनिबार

लन्डन । मगर संघ यूकेको आयोजनामा जुन १४ तारिख बेलायतमा हुने नेपाली ओपन कन्सर्टका लागि चर्चित कलाकारहरू खेम सेन्चुरी, अन्जु पन्त र विजय ठाडा मगर बेलायत प्रस्थान गरेका छन् ।कतार एयरलाइन्सको विमानबाट उनीहरु त्यसतर्फ लागेका हुन् ।

बुधबार बिहान कलाकारहरु लण्डन हिडेको कन्सर्टका प्रमुख संयोजक संघका वरिष्ठ उपाध्यक्ष रूद्र थापाले लण्डन नेपाल न्युज लाई बताए।

कार्यक्रममा भ्वाइस अफ नेपाली सिजन ६ का कोच खेम सेन्चुरी र सदावहार गायिका अन्जु पन्तका साथै भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडाले पनि प्रस्तुति दिनेछन् ।

‘म्यूजिक फर युनिटी’ नाराका साथ फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने सो कन्सर्टमा बालबालिकाका लागि मनोरन्जनात्मक खेल साथै युवा, वयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकको भनाइ छ ।

कार्यक्रममा नेपालबाट आएका अन्य कलाकारहरू साथै बेलायतका स्थानिय कलाकारले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिने कार्यक्रम छ ।

कार्यक्रम हेर्न १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउण्ड र सोही दिन किन्दा २५ पाउण्ड प्रवेश शुल्क तोकिएको छ ।

१७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रीम टिकट किन्दा जनही २५ पाउण्ड र सोही दिन खरिद गर्दा ३० पाउण्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनीका बालबालिकालाई भने प्रवेश निशुल्क राखिएको छ ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् ।

कार्यक्रममा करिब ५ हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ ।

सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली कला संस्कृति, गीत, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट गर्दै आएको छ ।

बेलायतमा सबै उमेर समूहका मानिसलाई सहभागी हुन मिल्ने किसिमको खुल्ला मैदानमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।

सो कार्यक्रम सफल पार्न मगर संघ यूकेले आफ्ना १२ वटै शाखा परिचालन गरेको आयोजकले बताएका छन्।

कार्यक्रममा बेलायतको वेल्स, क्याट्रिक, मिडल्याण्डलगायत शहरहरुबाट दर्शक सहभागी हुने बताइएको छ ।

कार्यक्रममा मगर महिला संघ यूकेले राफल ड्र सञ्चालन गर्नेछ । राफल ड्रमा २०० पाउण्डदेखि ७०० पाउण्डसम्मको उपहार राखिएका छन् ।

अध्यक्ष लालबहादुर पुन महासचिव गोमानसिंह पुन र साँस्कृतिक सचिव नुनु पाइजाका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भै रहेको लण्डन नेपाल न्युजलाई बताए