एन्टाको होली हंगामा भव्यताका साथ सम्पन्न

सिड्नी । रंगहरुको पर्वको रुपमा लिईने फागु पूर्‌णिमा अर्थात होली पर्व अस्ट्रेलियामा रहेका नेपालीहरुले पनि विशेष कार्यक्रम गरी मनाएका छन् । एशोसियसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा विगतका वर्षहरुमा जस्तै यस वर्षपनि सिड्नीको ग्रानभिल पार्कमा होली हंगामा कार्यक्रमको आयोजना गरि उल्लासपूर्ण वातावरणमा होली मनाईएको हो ।

कार्यक्रममा सयौँ संख्यामा उपस्थित भएका नेपालीजनहरुले एक आपसमा रंग दल्दै होलीको शुभकामना साटासाट सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ होली मनाएका हुन् । सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिल पार्कमा नेपाली समुदायबाट होली हंगामा आयोजना गरिएको छ । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले आयोजना गरेको होली कार्यक्रममा सयौँ नेपाली सहभागी भई एकापसमा रङ लगाएर शुभकामना आदानप्रदान गरे

। कार्यक्रमको उद्घाटन गर्दै एन्टाका अध्यक्ष रञ्जित शाहले नेपालीबीच एकआपसमा मित्रता बाँड्ने, सम्बन्ध बनाउने र रंगहरुको पर्वमा रमाईलो गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए । नेपालका विभिन्न सांस्कृतिक पर्वहरु मध्ये होली पर्वको महत्वलाई अस्ट्रेलियामा पनि दर्साउँदै यसको संरक्षण र प्रवद्र्धन गर्नु पनि कार्यक्रमको अर्को उद्धेश्य रहेको उनको भनाई थियो । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती, मौलिक नेपाली खानाका परिकारहरु र विभिन्न भेषभुषामा सुसज्जित भएर भौगोलिक विविधता सहितका प्रस्तुती राखिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्रानभिल क्षेत्रकी सांसद जुलिया फिनले बहुसांस्कृतिक र विविधतायुक्त देश नेपालका विभिन्न संस्कृतीहरु आफैमा निकै सुन्दर रहेको भन्दै यसले देशको प्रतिनिधित्व गर्ने बताईन् । कार्यक्रममा एनआरएन ओसेनियाका उपसंयोजक अरुण ठाकुर, नारी निकुञ्जकी संयोजक सङ्गीता चापागाईं लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न गीत, संगीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा ह्वाइट स्पट ग्रुप संगै सिड्नीका चर्चित   कलाकारहरु जेनिशा गौतम,मानस राज,  सुदिन पोखरेल,  आरिफ रौफ, सुशान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्याण्ड, डीजे नटकेस,  लगायतले प्रस्तुती दिएका थिए । कार्यक्रमकै अवसरमा निर्देशक सोभित बस्नेतले अष्ट्रेलियामा निर्माणको क्रममा रहेको आफ्‌नो चलचित्र ‘पीआर’को बारेमा  जानकारी दिंदै चलचित्रका कलाकारहरूको संयुक्त परिचयका साथै  चलचित्रका गीतमा सामूहिक नृत्य प्रस्तुत गर्दै गीतलाई सार्वजनिक गराएका थिए।