विवाह : विश्वास, समझदारी र त्यागको सम्बन्ध

दिपक पहारी, सिड्नी अष्ट्रेलिया ,

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको छ । प्राय : विवाहलाई एक दिनको संस्कार वा सामाजिक रीतिरिवाजको रूपमा मात्र हेरिन्छ, तर वास्तवमा यो दुई व्यक्तिहरू बीचको गहिरो विश्वास, माया, समझदारी र त्यागको बन्धन हो । विवाह कुनै एक दिनको उत्सव वा समारोह मात्र होइन, यो जीवनभरको यात्रा हो जसमा सुख–दुःख, चुनौती र सफलता सबै सामेल हुन्छन् । यस यात्रामा एकअर्कासँग सहकार्य गर्न, विचार मिलाउन र समय अनुसार आफूलाई परिष्कृत गर्न आवश्यक हुन्छ । जसको पनि वैवाहिक जीवनमा उतारचढाब आउँछ । समय अनुसार त्यसलाई मिलाएर एक आपसमा छलफल गरेर नै अगाडी बढ्ने हो ।

कहिलेकाहीँ खटपट आउँछ, जो कोहीको पनि आउँछ, एकै हातका औँला त बराबर छैनन् । एकै परिवारका दाजुभाई दिदीबहिनीमा त बिमत हुन्छ, अझ भनाँै जुम्ल्याहामा पनि मतभेद र कुरा बाझाबाझ हुन्छ भने दुई अलग परिवारमा जन्मेर, फरक भुगोलमा जन्मेर, फरक वातावरणमा हुर्किएर वैवाहिक जीवनमा बाँधिदा भतभेद त आउछ तर त्यसलाई मिलाएर अगाडी बढ्नु पनि सच्चा विवाहको अर्थ हुन्छ । एउटा कुरा सम्झनु पर्दछ कि संसारमा कुनै पनि व्यक्तिको साँेच सतप्रतिशत समान हुँदैन । त्यसैले पनि वैवाहिक जीवनमा समझदारी बन्न समय लाग्न सक्छ । विवाहका प्रारम्भिक दिनहरू प्राय : रमाइलो र उत्साही हुन्छन् । त्यसमा माया र आकर्षणको मुख्य स्थान हुन्छ । तर जब समय बित्दै जान्छ र जीवनका चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ । तब मात्र साँचो विवाहको परिभाषा स्पष्ट हुन्छ । जीवनका कठिन परिस्थितिहरूलाई मिलाएर अगाडी बढ्नको लागि त्याग र समझदारी अपरिहार्य हुन्छ । दुई व्यक्तिको विचार, भावना र इच्छामा भिन्नता आउने स्वभाविक कुरा हो, तर तिनलाई समेटेर जीवनलाई साझा लक्ष्यतर्फ अघि बढाउनु भनेको विवाहको साँचो अर्थ हो । समयको साथ सगै एक विवाहित जोडीमा पनि उतारचढाब आउँन सक्छन् ।

कुनै पनि परिवारमा संघर्ष र तनाव पर्न सक्छ, जुन बाहिरी तत्वहरूको पनि कारण हुन सक्छ । यस्ता समयमा, परिवारका सदस्यहरूले एकअर्कासँग संवाद र छलफल गरेर समस्याको समाधान खोज्नुपर्छ । बाहिरी दबाबलाई पन्छ्याउँदै आन्तरिक विश्वास र सहयोगको माध्यमबाट समस्याहरूलाई सुल्झाउन महत्त्वपूर्ण हुन्छ । विवाहको साँचो शक्ति भनेको परिवारका सदस्यहरूको बीचको विश्वास र त्यागमा रहेको हुन्छ । त्यसैले, विवाह केवल एउटा सामाजिक अनुष्ठान मात्र होइन, यो एक सशक्त सम्बन्धको आधार हो जुन कडा परिश्रम र बलिदानको माध्यमबाट जीवनभर टिकाउन सकिन्छ । विवाहको अर्को महत्त्वपूर्ण पक्ष भनेको छोरा छोरीको बारेमा सोच पनि हो । विवाहको पछि, प्राय : एक परिवारको सोचमा नयाँ सदस्यको आगमनको बारेमा कुरा उठ्छ । यो पनि एक महत्वपूर्ण मोड हो जहाँ दुबै जनाले एकअर्कासँग मिलेर आफ्नो भविष्य निर्माण गर्न सोच्नुपर्छ । कतिपय अवस्थामा एक जना यस विषयमा सकारात्मक सोच राख्दछन् भने अर्काले त्यो समयमा बच्चा नहुने विचार राख्न सक्छ । यस अवस्थामा, दुबै जनाले एकअर्काको चाहनालाई बुझेर, त्याग र समझदारीका साथ निर्णय लिनु महत्वपूर्ण हुन्छ । छोरा छोरी हुर्काउनु , शिक्षा दिक्षा दिनु, उनिहरुको पनि आशा अपेक्षा हुन्छन् । पुरा गर्नु ,आर्थिक परिस्थितिहरूलाई मिलाएर जानु आफैमा सहज छैन । यो समयमा सुरूका दिनका भन्दा बढी उतारचढाब आउन सक्छ । त्यसलाई पनि सामना गरेर अगाडी बढ्नु पर्छ ।

विवाहपछि, परिवार र व्यक्तिगत जीवनको बीचमा सन्तुलन मिलाउनु चुनौतीपूर्ण हुन सक्छ । परिवारको साथको समर्थन र सहयोग अत्यन्त महत्वपूर्ण हुन्छ, र विवाहको साँचो अर्थ तब प्रकट हुन्छ जब यो परिवार र समाजको समझदारी र समर्थनमा आधारित हुन्छ । विवाहको पछि आउने संघर्ष र चुनौतीहरूलाई मिलाएर, सँगै बढ्नको लागि विश्वास र समर्पण आवश्यक हुन्छ । विवाह केवल रिती र संस्कारको पालना गर्नको लागि मात्र होइन, बरु साँचो मायाको, त्याग र समझदारीको प्रतीक हो । जीवनमा एक्लै बस्ने र रमाउनेहरूको जमात पनि छ, अनि विवाह बन्धन तोडेर अस्थायी सम्बन्धहरूमा रमाउनेहरूको पनि । यद्यपि, ती सबै हाम्रो भाग्यका हिस्सा हुन् । तर, बारम्बार विवाह गरे पनि यदि जीवनमा समझदारी, त्याग, समर्पण, माया र प्रेमको अभाव छ भने, परिस्थिति फेरि दोहोरिन सक्छ । असल सम्बन्धको आधार भनेको आपसी विश्वास र समझदारी हो । यी गुणहरू बिना, सम्बन्धहरू कमजोर बन्न सक्छन् र हामी फेरि पुरानो चक्रमा अड्किन सक्छौं । जीवनमा साँचो प्रेम र सम्मानले मात्र दीर्घकालीन खुशी र शान्ति ल्याउन सक्छ । अन्तिममा विवाह केवल सामाजिक र धार्मिक दायित्व होइन, यो जीवनको एक गहिरो बन्धन हो जसको मर्म भनेको विश्वास, समझदारी र त्यागमा रहेको हुन्छ । जसमा दुई व्यक्तिहरू एकअर्कासँग मिलेर जीवनको चुनौतीहरूको सामना गर्छन् र जीवनलाई अझै अर्थपूर्ण बनाउँछन् । त्यसैले, विवाहलाई केवल उत्सवको रुपमा नलिईकन यो संसारमा जति पनि विवाह वन्धन टिकेको छ त्यो केवल एक आपसको समझदारी, त्याग, समर्पण, माया र प्रेममा नै चलेको छ भन्ने बुझन जरूरी छ र वैवाहिक जीवन आवेगमा ,जोसमा, उक्सावटमा नभई सरल, शान्त र सोच विचारका साथ समझदारीमा अघि बढ्नु बुद्धिमानी हुन्छ र सत्य पनि त्यही हो ।

लेखक:  दिपक पहारी पोखरा स्थायी घर भई हाल हाल अस्ट्रेलियाको सिड्नीमा कार्यरत छन् उनी समाजसेबी तथा  एनआरएनए अस्ट्रेलिया एनएसडब्ल्यूका पूर्व सचिव समेत हुन् ।