सिड्नी । तामाङ समुदायहरुको महत्वपूर्ण चाड सोनाम ल्होछार अस्ट्रेलियाको सिड्नीमा पनि भव्य रुपमा मनाईने भएको छ । तामाङ सोसाईटी अफ सिड्नी एनएसडब्ल्यूको आयोजनामा ९ फेब्रअरी २०२५ हर्सभिल मराना अडेटेरियममा सोनाम ल्होछार २८६१ विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित मनाउन लागिएको हो ।
तामाङहरुको सांस्कृतिक एवं मौलिक सोनाम ल्होछारलाई यो समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गर्दछन् । सोसाईटीका अध्यक्ष अविरल तामाङका अनुसार कार्यक्रममा मौलिक नृत्य, लामा पुजा, नेपाली मौलिक खानाका परिकार, गायन तथा नृत्य सहित विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । कार्यक्रममा गायक दिल तामाङ, रोशन फ्युबा तामाङ सहित स्थानीय गायकहरु कमल सुवास, कोरियोग्राफर समिर, सुस्मा र ईम्की ग्रुपको समेत प्रस्तुती रहने अध्यक्ष तामाङले लण्डन नेपाल न्यूजलाई जानकारी दिए । कार्यक्रम समन्वयको लागि उपाध्यक्ष युन्ज तामाङ, महासचिव कुनसाङ घिसिङ, सांस्कृतिक संयोजक मोबित लामा लगायतको समिति बनाइएको छ। बेलुकी ५ बजे लामा पूजा बाट सुरु हुने कार्यक्रममा सहभागीताका लागि सोसाईटीका विभिन्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने बताईएको छ ।
के हो सोनाम ल्होछार पर्व ?
सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ । दुइ शब्द मिलेर बनेको ‘ल्होछार’ । जसको अर्थ नयाँ बर्ष भन्ने बुझिन्छ र, यसै अनुरूप ल्होछार मनाउने गरिन्छ । ल्होछार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिने बताईएको छ ।







