सिड्नी । सिड्नीको बरउड क्षेत्रको काउन्सिलमा काउन्सिलरको उम्मेदवारको रुपमा सुकिर्ति भट्ट चयन भएकी छिन् । लेवर पार्टीले आगामी महिना हुने स्थानिय निर्वाचनमा नेपाली मुलकी सुकिर्ति भट्टलाई उम्मेदवारको रुपमा अगाढी बढाएको छ । अस्ट्रेलियाको स्थानीय देखि संघीय राजनीतिमा नेपाली समुदायको बढ्दो प्रभावको रुपमा पछिल्लो भट्टको उम्मेदवारीलाई पनि लिन सकिन्छ । लेवर पार्टी हालको सत्ताधारी पार्टी हो । सोही पार्टीबाट मेयर जोन फेकरको नेतृत्वमा नेपाली मुलकी महिला उम्मेदवारी सुकृतीले टिकट प्राप्त गरेकी हुन् ।३१ अगस्ट शनिबार बरुडको लिटिल नेपाल रेष्टुरेन्टमा उनको उम्मेदवारी घोषणाको जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो 

उक्त्त कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलरको पद उम्मेदवार सुकिर्तिले बरुड काउन्सिलको आगामी स्थानीय परिषद्को निर्वाचनमा काउन्सिलरको उम्मेदवारको रूपमा अनुमोदन भएको घोषणा गर्न पाउँदा खुशी लगेको र मेयर जोन फेकरको नेतृत्वमा रहेको लेबर पार्टीको हिस्सा हुन पाउँदा आफु साँच्चै विशेषाधिकार र सम्मानित महसुस गरेको भन्दै न्यू साउथ वेल्समा रहेका नेपाली डायस्पोराको एक महत्वपूर्ण सरोकारवालाको रूपमा समुदायको वकालत गर्न सक्ने टेबुलमा आउँदै गर्दा नेपाली समुदायको समर्थनमा भरोसा गरेको वताइन।आगामी १४ सेप्टेम्बरमा हुने निर्वाचनमा आफुलाई विश्वास गरी लेवर पार्टीको तर्फबाट उम्मेदवार चयन गरी टिकट प्रदान गरेकोमा उनले धन्यवाद समेत व्यक्त गरिन् ।

कार्यक्रममा बरुड काउन्सिलका लागि लेबर पार्टीको मेयरको उम्मेदवार जोन फेकर र अन्य लेबर पार्टीका उम्मेदवारहरू श्याली सिटौ, जेसन याट-सेन ली लगायतले उम्मेदवारीको बारेमा चर्चा गरेका थिए । अस्ट्रेलियाको राजनीतिमा नेपाली प्रभाव बढाउन सके नेपालीहरुका समस्या समाधानका लागि सहज हुने उनको प्रतिक्रिया छ । लामो समय एनआरएनए सहित विभिन्न नेपाली संघ संस्थाको नेतृत्व रहेर काम गरेकी सुकृती अनुभवी उम्मेदवारको रुपमा हेरिएको छ । यसपटक भट्टको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ ।कार्यक्रममा नेपाली समुदायका नेता तथा विभिन्न संगठन प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।







