लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही र प्रवास विभाग संयोजक आनन्द अधिकारी सेप्टेम्बर तेश्रो साता बेलायत आउने भएका छन् ।
उनीहरु ६ दिने भ्रमणका क्रममा सेप्टेम्बर २१ तारिख दिउसो बेलायत आइपुग्ने प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोशन सापकोटाले लण्डन नेपाल न्युज लाई बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष लिङ्देनको पहिलो पटक बेलायत भ्रमण हुन लागेको हो ।यसैगरी जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शाही ‘पनि पहिलो पटक बेलायत आउने भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ति नेताहरुसंग पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता समाजले आउंदो सेप्टेम्बर २२ तारिख आइतबार अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रिया गर्दैछ । स्कटल्याण्ड पनि अन्तरक्रिया गर्ने योजना भइरहेको छ ।
एम्पायर हलमा दुई चरणमा अन्तरक्रिया गरिने सापकोटाले जनाए । अन्तरक्रियामा बेलायतको नेपाली डायष्पोरासंग राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो धारणा राख्नेछ ।
विशेषगरि गैर आवासीय नेपालीका लागि पूर्ण अधिकारसहितको नागरिकता मुद्दालाई पार्टीले सकारात्मक रुपमा लिएको जनाउंदै सापकोटाले नेतात्रयको प्रत्यक्ष उपस्थितिमा अरु पार्टीभन्दा प्रोग्रेसिभ भएर यस सवाल उठाउने जनाए ।






