लण्डनमा गुल्मी जिल्ला समाज युकेद्वारा नगर प्रमुख खिलध्वज पन्थीलाई स्वागत

लण्डन ‐ नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति एवं रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी तथा गुल्मीदरबार गाउँपालिकाकी उपाध्यक्ष तारा थापा ढेँगा बेलायत भ्रमणको क्रममा लण्डन आईपुगेका छन ।

गुल्मी जिल्ला समाज युकेको निमन्त्रणामा उहाँहरु बिहिबार लण्डन आईपुगेका हुन । उनीहरुलाई गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापा, सल्लाहकारहरु प्रेम गाहा मगर, गोकर्ण बस्नेत, शिब राना, पत्रकार शिब भण्डारी लगायतले बेलायतको हिथ्रो बिमानस्थलमा आज स्वागत गरेका थिए ।

समाजको निमन्त्रणामा यस अघिनै लण्डन आईपुगेका कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद बहादुर थापा एवं गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापा समेत उक्त स्वागतमा सहभागि बनेका थिए । समाजको निमन्त्रणमा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय पनि लण्डन पुगेर फर्किसकेका छन ।

गुल्मी जिल्ला समाजले नेपालबाट गुल्मी जिल्लाका नगरप्रमुख र अध्यक्षहरुलाई बेलायतमा आमन्त्रण गरेर बेलायतमा स्थानीय तहको अवस्था, विकास निर्माण, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी आदानप्रदान गराउने भएको छ ।
गुल्मी जिल्ला समाजले बेलायतमा बस्ने गुल्मेलीहरुको १६ औं वार्षिक भेला यही अगष्ट ४ तारिकमा सम्पन्न गरिसकेको छ । सोही कार्यक्रमको अवशरमा विशेष अतिथिका रुपमा यस वर्ष पहिलो पटक गुल्मी जिल्लाका सबै स्थानीयतहका पालिका प्रमुखहरुलाई निमन्त्रणा गरिएको समाजका महासचिव महलाल घिमिरेले जानकारी दिए ।
समाजका अध्यक्ष रुद्र थापाले गुल्मी जिल्लाका नगर प्रमुखहरुलाई बेलायतमा स्वागत गर्न पाउँदा आफुहरुलाई निकै खुसी लागेको बताए । उनले समाजको निमन्त्रणालाई महत्व दिएर बेलायत आएको नगर प्रमुख पन्थी सहित सबैलाई धन्यबाद व्यक्त गरे । समाजले गरेको स्वागत प्रति कृतज्ञता व्यक्त गर्दै रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले लण्डन नेपाल न्युजसंग कुरा गर्दै बेलायतवासी सबै गुल्मेलीहरु प्रति आफु निकै आभारी भएको बताए ।

नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति समेत रहेका पन्थी हाल रेसुङ्गा नगरपालिकाका नगर प्रमुख हुन । जिल्लामा विकासप्रेमी नेताको रुपमा चिनिएका ४६ वर्षीय पन्थी नेपाली काँग्रेसको राजनीतिमा एउटा उर्जावान युवा नेताको रुपमा परिचित छन ।