चर्चित लोक गायक राजु परियार र गायिका शिला आलेले सिड्नीमा प्रस्तुती दिदै

सिड्नी । कुनै समय नेपाली लोकगीत संगीतमा एकछत्र राज गरी लोक गीतको बादशाह नामले परिचित गायक राजु परियार तथा गायिका शिला आले अस्ट्रेलियाको सिड्नी आउने भएका छन् । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर ग्यालेक्सी फंक्सन सेन्टरले आयोजना गरेको तीज विशेष कार्यक्रममा प्रस्तुतीका लागि गायक द्धय राजु र शिला सिड्नी आउन लागेका हुन् । १ सेप्टेम्बर प्यासिफिक हाईवे कोज नेष्टमा आयोजना हुँदै गरेको तीज धमाका २०२४ मा उनीहरुले विशेष सांगीतिक प्रस्तुती दिनेछन् ।

कार्यक्रममा उनीहरुसंगै अन्य दर्जनौँ कलाकारहरुले तीज विशेष प्रस्तुती दिने आयोजक मध्येका उद्धव भट्टले जानकारी दिए । दरखाने कार्यक्रमसंगै रमाईलो तीज मेलामा सहभागी हुन आयोजकले सिड्नी तथा आसपासका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई अनुरोध गरेको छ । कार्यक्रमलाई अस्ट्रेलिया स्थित दर्जनौँ संघसंस्थाले प्रायोजन गरेका छन् । बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रम ऐतिहासिक बन्ने आयोजकको दाबी छ ।