काठमाडौं, १९ असार । नेपाल शैक्षिक परामर्श सङ्घले भृकुटीमण्डपमा आयोजना गरेको नवौँ शैक्षिक मेलामा शुक्रबार पनि दर्शकको बाक्लो भीड रहेको थियो । त्यहाँका विभिन्न स्टलमा रहेका परामर्सदातासँग बाह्य मुलुकका कलेज र विश्वविद्यालयमा अध्ययनमा जाँदा आइपर्ने विभिन्न समस्याका बारेमा जानकारी लिने विद्यार्थीको घुइँचो देखिन्छ ।
धेरैजसोले अमेरिका, अस्ट्रेलिया, जापानलगायतका मुलुकमा अध्ययनमा रुचि देखाएका छन् । इक्यानका अध्यक्ष राजेन्द्र बरालले उच्च शिक्षा अध्ययनका सन्दर्भमा उचित गन्तव्य र विषय पहिचानका लागि विद्यार्थीलाई सही परामर्श दिने यस्ता मेला महत्वपूर्ण हुने बताउँदै मेलाबाट विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । मेलामा रहेका विभिन्न स्टलको अवलोकनबाट विदेशी कलेज तथा शिक्षालयका बारेमा सामान्य जानकारी प्राप्त गरेको भए पनि कुन विषय र कहाँ पढ्नेबारे आफूले निर्णय लिइनसकको अवलोकनकर्ता रामप्रसाद घिमिरेले बताउनुभयो । चार दिनसम्म चल्ने शैक्षिक मेलामा विभिन्न कलेजले छात्रवृत्तिको व्यवस्था गर्नुका साथै निःशुल्क स्वास्थ परीक्षण र रक्तदान जस्ता कार्यक्रमसमेत सञ्चालन गरिएका छन् । सो मेलामा विभिन्न २०५ स्टल रहेको छ ।
शैक्षिक मेलामा विद्यार्थीको भीड






