सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको अवैतानिक वाणिज्यदूतमा सञ्जिव शर्मा नियुक्त भएका छन् । शुक्रवारको मन्त्रिपरिषद बैठकले शर्मालाई एनएसडब्ल्यूको अवैतानिक वाणिज्यदूत नियुक्ति गर्ने निणर्य गरेको हो । अवैतानिक वाणिज्यदूतको कार्यभार सम्हालेपछि शर्माले आफुले ,नेपाल र नेपालीको हितका लागी सम्पूणर् समुदायको ईच्छा, योजना र भिजनहरु समेतलाई समेट्दै दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जुलाई १७ तारिख बुधवार औपचारिक रुपमा क्यानबेरा स्थित नेपाली राजदुतावासमा आयोजित एक विशेष कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अवैतानिक वाणिज्यदूत नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै शर्माले अस्ट्रेलिया र नेपालबीच सिधा हवाई उडान, नेपालीहरुलाई कामदार भिजा लगायतका विषयमा पहल गर्ने बताए । उनले परराष्ट मन्त्रालयले निर्दिष्ट गरेका विषयहरुलाई टेकेर काम गर्ने भन्दैे विभिन्न संघ संस्था संग सहकार्य गरेर काम गर्न अगाडी बढ्न आतुर रहेको बताए । सबैको साथ सहयोग रहने अपेक्षा व्यक्त गरे । अष्ट्रेलियामा झण्डै ३ दशक लामो बसाइको अनुभवसँगै यहाँको स्थानीयदेखी राज्यस्तरसम्मको राजनीतिक, सामाजिक तथा आर्थिक परिवेशसंग राम्रो संग नियालिरहेकाले पनि आफुलाई काम गर्न सहज हुने उनको विश्वास छ । उनले विभिन्न साँस्कृतिक, सामाजिक एवम् खेलकुद सम्बन्धी गतिबिधिहरुमार्फत नेपाल र अस्ट्रेलिया बीचको सम्बन्ध अझ सुदृढ बनाउन दूतावास र अन्य वाणिज्यदूतहरुसँग सहकार्य गर्ने योजना रहेको बताएका छन् ।
दुई देशको बाणिज्य बिस्तार र समुदायको हितलाई केन्द्रमा राखेर गर्न सकिने र गर्नैपर्ने केही कामहरुबारे आफुले योजना बनाएको र ती योजना पनि विस्तारै सार्वजनिक गर्दै जाने उनको भनाई छ । शर्माले सिड्नीस्थित वाणिज्यदूतको कार्यालय यथाशीघ्र सञ्चालनमा आउन लागेको जानकारी समेत दिए ।






