नेपाली साहित्य विकास परिषद् यूकेको निर्वाचन घोषणा 

लण्डन-। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले परिषद्को १४औँ कार्यसमितिको निर्वाचन घोषणा गरेको छ ।

परिषदका अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी २१ जुलाई २०२४ आइतबार निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो ।

मध्यान्ह १२ बजेदेखि एबीआइ कलेज, एक्टन हाइस्ट्रिटमा बस्ने परिषदको २९ औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि परिषद्को १४औँ कार्यसमिति निर्वाचित गर्नेछ ।

निर्वाचन सम्पन्न गर्नका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा ६ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ। अध्यक्ष मण्डलमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल, पूर्व अध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली, सल्लाहकारहरू विजय थापा र  कृष्ण भट्ट छन् ।

परिषद् सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण सर्जक कवि साहित्यकार तथा साहित्यप्रेमी समाजसेवीमा निर्वाचनमा उत्साहवर्धक सहभागिताका लागि खुल्ला उन्मेद्वारी मनोन्वयन गर्न आह्वान गरेको छ ।

निर्वाचनमा उम्मेद्वार हुन चाहने उम्मेद्वारले यही १९ जुलाई साँझ ५.३० बजेभित्र अध्यक्ष मण्डलका सदस्य कृष्ण भट्ट समक्ष आफूले उठ्न चाहेको पदमा उम्मेद्वारी नाम दर्ता गराउनु पर्नेछ भने परिषद्को सदस्यता नवीकरण वा नयाँ सदस्यताका लागि परिषद्का वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान वा अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठसँग अविलम्व सम्पर्क गर्न पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।