सिड्नी । नेपालट्युब अस्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई झण्डै २४ लाखको छात्रवृत्ति प्रदान गर्ने भएको छ । नेपाली समुदायबाट सञ्चालित संचार संस्था नेपालट्युब लामो समयदेखि अस्ट्रेलियामा रहेका नेपाली समुदाय, विभिन्न घटना परिघटना सहित जानकारीमूलक पत्रकारिता गर्दै नेपाली समुदायमा सचेतना र सुचना प्रदान गर्दै आईरहेको छ । अस्ट्रेलियामा बढ्दो नेपाली विद्यार्थीहरुको आकर्षणसंगै संस्थाले नेपालट्युब न्यू एबिलिटी छात्रवृत्तिको घोषणा गरेको हो । जसका लागि नेपालट्युबले टेक स्किल ईन्स्टिच्यूटसंग सहकार्य गर्ने जनाएको छ ।
नेपालट्युब अस्ट्रेलियाका सम्पादक सरल गुरुङले लण्डन नेपाल न्यूसंग कुराकानी गर्दै ” हामीसँग धन भएर हैन मन भएर यो छात्रवृत्ति दिँदै छौ ” भन्दै सञ्चारकर्मसंगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि केही गर्ने उद्धेश्यले यस्तो कार्यक्रम घोषणा गरिएको जानकारी दिए । उनका अनुसार १० जनालाई दिईने छात्रवृत्ति मध्ये जबरेडी प्रोग्राम अन्तर्गत प्रत्येक ३ महिनामा २ जना र एक वर्षमा ८ जनालाई उक्त छात्रवृत्ति प्रदान गरिनेछ । उक्त कार्यक्रम मार्फत नेपाली विद्यार्थीहरुलाई आईटी रोजगारीका लागि सहयोगी हुनेछ । ३ महिनाको एक पटक दिइने छात्रबृत्तिमा एक जना सिड्नीबाट र एक जना मेलबर्नबाट गरेर २ जना छनोट हुनेछन् । क्रमसः तीन तीन महिना गरेर एक वर्षमा ८ जनाले प्रति व्यक्ति ३ हजार २ सय ९० बराबरको छात्रबृत्ति पाउनेछन् । एक वर्षमा २६ हजार ३ सय २० अष्ट्रेलियन डलर अर्थात नेपाली २३ लाख ७४ हजार रुपैया बढीको छात्रबृत्ति वितरण हुनेछ । यसरी छात्रवृत्ति वितरणका लागि संस्थाले केही मापदण्ड समेत तैयार गरेको छ ।
उक्त मापदण्डमा रहने विद्यार्थीले मात्रै छात्रवृत्ति पाउनेछन् । कार्यबिधि अनुसार हाईब्रिड मोडलमा जेहेन्दार, महेनती र आर्थिक रुपमा समस्यामा परेका विद्यार्थी, महिला, अल्पसंख्यक, जनजाति, दलित र यौनिक अल्पसंख्यकहरुको समाबेशी मोडललाई समेत आत्मसाथ गरेर छात्रवृत्तिका लागि विद्यार्थी छनौँट गर्ने जनाईएको छ । उक्त साझेदारी पत्रमा नेपालट्युबका तर्फबाट सम्पादक सरल गुरुङ र टेक स्किल ईन्स्टिच्युटका सञ्चालक बिराज भँडेलले सामुहिक हस्ताक्षर गरेका हुन् । छात्रवृत्ति अष्ट्रेलियामा बस्ने र आइटी ग्राजुएट अध्ययन गरिरहेका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रदान गरिने भएकाले निश्चित कोटा रहेको जनाईएको छ ।






