सिड्नी । अस्ट्रेलियामा रियलस्टेटको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मल्टिडायनामिक रियलस्टेटले आफ्नो नयाँ शाखा क्वीसल्याण्डको ब्रिसबेनमा विस्तार गरेको छ । ब्रिसबेन शाखाको शनिवार क्वीन्सल्याण्ड राज्यका पर्यटन मन्त्री स्टर्लिंग हिन्चलिफ र मल्टिडायनामिकका कर्पोरेट प्रिन्सिपल मध्येका एक मेघराज पौडेलले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।
नयाँ शाखाको कार्यालय ब्रिसवेनको फिट्जगिब्बनमा रहेको छ । नयाँ शाखा शुभारम्भ कार्यक्रममा मन्त्री हिन्चलिफले रियलस्टेट एउटा व्यवसाय मात्रै नभएर सेवा रहेको भन्दै सोही मान्यतालाई आत्मसाथ गरि आफ्ना कार्य गर्न आग्रह गरे । उनले मानवजीवनको अत्यावश्यक सेवामा समर्पित रहेकोमा धन्यवाद समेत व्यक्त गरे । कार्यक्रममा मल्टिडायनामिक रियलस्टेटका सिईओ मेघराज पौडेलले सानो लगानी र क्षेत्रबाट सुरु भएको व्यवसाय अस्ट्रेलियाका विभिन्न ठाउँहरुमा सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए । उनले मल्टिडायनामिकका प्रिन्सिपल, डिरेकटर, स्टाफ , एजेन्टस हरुको सामुहिक प्रयासले मल्टिडायनामिक लाई यहाँ सम्म ल्याउन सफल भएको भन्दै ब्रिसवेनको फिट्जगिब्बन टिम लाई बधाई समेत दिए । ग्राहकहरुले आफुहरुप्रति गरेको विश्वास र मायाकै कारण सफल रियलस्टेटका रुपमा स्थापित बनेको भन्दै ब्रिसबेनमा रहेका नेपालीहरुले पनि ढुक्क भएर विश्वास गर्न आग्रह गरे ।
मल्टिडायनामिक रियलस्टेट लामो समयदेखि अस्ट्रेलियाका विभिन्न सहरमा सेवा दिँदै आएको छ । संस्थाको उद्धेश्य बमोजिम घर खरिद बिक्री संगै घर भाडामा दिने लगायतका काममा सहजीकरण गर्दै आईरहेको र ब्रिसबेन शाखाबाट पनि उक्त सेवा सुरु भएको कुईसल्याण्ड शाखाका प्रिन्सिपल रमेश प्रसाद पौड्यालले बताए । हालसम्म मल्टिडायनामिकका क्वीन्सल्याण्ड सिड्नी मेलवर्न, एडिलेडमा शाखा रहेका छन् भने यो मल्टिडायनामिकको सातौं शाखा हो । कार्यक्रममा मल्टिडायनामिकका कर्पोरेट प्रिन्सिपल मेघराज पौडेल , बिष्णु प्रभात सापकोटा, मल्टिडायनामिक क्वीन्सल्याण्ड टिम लगायत समाजका समुदाय प्रतिनिधिहरु बाक्लो उपस्थिति रहेको थियो । 






