अनिल पोखरेल बने एनआरएनए अस्ट्रेलियाको अध्यक्ष

सिड्नी । प्रवासी नेपालीहरुको पुरानो र सबैभन्दा ठुलो साझा संस्था गैरआवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा पोखरेलले कुल खसेको मत मध्ये ५ हजार २ सय ६६ मत सहित अध्यक्षमा विजयी भएका हुन् । एनआरएनए २०२३-०२५ कार्यकालका लागि अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको थियो । पोखरेललाई पछ्याउँदै उनका निकटतम प्रतिस्पर्धी देव गुरुङले ३ हजार ३ सय ८० मत प्राप्त गरेका छन् भने अर्का अध्यक्ष पदका उम्मेदवार डिला खरेलले ३ हजार ३४७ मत प्राप्त गरेका थिए । यो बाहेक कुल मतको ६ सय ४० मत तटस्थ मत खसेको थियो ।

अध्यक्षमा निर्वाचित पोखरेलले अमूल्य मत प्रदान गरी अध्यक्ष पदमा निर्वाचित गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद व्यक्त गर्दै आफुले एनआरएनएलाई अझै सक्रिय र क्रियाशिल बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । आफुले गरेको प्रतिबद्धता बमोजिम एनआरएनएका गतिबिधिहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउने उनको भनाई छ । पोखरेलसंगै महासचिवमा संन्तोष कुँवर, सचिवमा थिरबहादुर गुरुङ, कोषध्यक्षमा अर्जन गौतम, संयुक्त कोषाध्यक्षमा रोजी पन्त, नारि निकुञ्ज संयोजकमा संगिता भण्डारी चापागाईँ र युवा संयोजकमा सुमन बोहोरा निर्वाचित भएका छन् । आइसिसी सदस्यहरुमा डा. भरतराज पौडेल, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदनराज पोडेल, नारायण कुमार कटुवाल, रमेश अधिकारी, सुजन अधिकारी र टिकाराम टिका भुर्तेल विजयी भएका छन्।

त्यस्तै, अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा बिक्रम सुवेदी, न्यू साउथ वेल्समा बिनोद कुँवर, नर्थन टेरिटोरीमा संजिव ढकाल, क्विन्सल्याण्डमा सम्भु घइसे,साउथर्न अस्ट्रेलियामा संजयराज पुरी, तास्मानियामा जगदिश खड्का, भिक्टोरियामा मणिरत्न सापकोटा र वेस्टर्न अस्ट्रेलियामा शेखर घिमिरे संयोजक पदमा निर्वाचित भएका छन् ।