सिड्नी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्तर्गत अस्ट्रेलिया शाखाको वार्षिक साधारण सभा एवम् विविध सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । जुलाई २१ मा सिड्नीको झरना फंक्सन सेन्टरमा आयोजना गरिएको कार्यक्रममा कलाकारहरुको उत्कृष्ट प्रस्तुतीकाबीच दर्शकहरु झुमी झुमी नाचेका थिए ।
संस्थाकी बरिष्ठ उपाध्यक्ष बिन्दु पौडेलको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष, गायक एवम् सर्जक रमेश बिजीले संस्थाको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय लोक गायक गायिकाहरुको बेजोड सागींतिक प्रस्तुती रहेको थियो भने सांस्कृतिक कार्यक्रम तर्फ आधा दर्जन भन्दा बढी कलाकारले एकल प्रस्तुती दिँदै उपस्थित दर्शकहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए । एकल प्रस्तुती तर्फ कलाकारहरु राजेन्द्र लामा, विज्ञान न्यौपाने, निशा केसी, गोविन्द भण्डारी, नेपाल आइडल सिजन ३ को उत्कृष्ट १२ मा पर्न सफल गायिका स्वस्तिका ढकाल लगायतले उपस्थित दर्शकहरुलाई आफ्नो प्रस्तुती दिँदै नचाएका थिए ।
एकल प्रस्तुती पश्चात सुरु भएको रिले दोहोरीले माहोल अझै मनोरञ्जनात्मक बनाएको थियो । रिले दोहोरीतर्फ अमृत सापकोटा, निशा केसी, प्रदिप खनाल, प्रविण सापकोटा, गोविन्द भण्डारी, एलिसा गैरे, पुजा न्यौपाने, राज खड्का र विज्ञान न्यौपाने लगायतले प्रस्तुती दिएका थिए । अध्यक्ष विष्णु सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा पूर्व अध्यक्ष गोविन्द भट्टराई, बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष सुमन पोखरेल र कोषाध्यक्ष प्रवेश सापकोटा लगायत दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रकाश सापकोटा र सांस्कृतिक संयोजक अमृत बरालले गरेका थिए ।फिन कनेक्स होम लोनको मुख्य प्रायोजनमा रहेको कार्यक्रम बेलुकी ६ बजेबाट शुरु भएको कार्यक्रम राति ११ बजेसम्म चलेको थियो ।






