जीवन विज्ञान यूकेद्वारा नेपाली दूतावासमा अन्तरक्रिया

लन्डन – योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था, जीवन विज्ञान यूकेले नेपाली दूतावासमा एक अन्तरक्रिया गरेको छ।

जीवन विज्ञान यूकेले बिहीबार बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासकी उप नियोग प्रमुख रोशन खनाल लगायत दूतावास परिवारसंग अन्तरक्रिया गरेको हो ।

उक्त अवसरमा जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता शर्माले आफ्नो संस्थाले बेलायत तथा युरोपमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरुका लागि दैनिक योग तथा ध्यान कक्षा, स्व संवाद प्रशिक्षण लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको बताइन्। उनले प्रवासमा हुर्कीरहेका नेपाली किशोर किशोरी तथा युवाहरुलाई लक्षित गरेर पनि विभिन्न कार्यक्रमहरु संचालन भै रहेको बताइन्।

उनले जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञ श्रद्धेय गुरुद्वय एलपी भानु शर्मा तथा रमेश नेपालले दक्षिण पूर्वी लन्डनमा जुलाई २३ देखि जुलाई २९ सम्म बेलायतमै पहिलो पटक ‘चक्र विज्ञान’ प्रशिक्षण संचालन गर्ने जानकारी पनि दिइन्।

हाम्रो शरीरमा रहेका प्रमुख सात चक्रहरुको जागरणबाट स्वस्थ शरीर, सक्रिय मन, सकारात्मक भाव र आध्यात्मिक प्रगतिको मार्ग खुल्ने जीवन विज्ञान युकेले जनाएको छ।

उक्त अवसरमा राजदूत आचार्यले जीवन विज्ञान युकेका कार्यक्रमहरु समय सान्दर्भिक र अत्यन्तै उपयोगी रहेको बताउंदै संस्थालाई व्यक्तिगत र राजदूतावासको तर्फबाट पूर्ण सहयोग हुने बताएका थिए।

उक्त अवसरमा जीवन विज्ञान युकेका ट्रस्टीहरू प्रेम खड्का, जीत रानाभाट, तुलसी पौडेल सहित खेम शर्मा एवं शिवजी श्रेष्ठ उपस्थित हुनु हुन्थ्यो । उक्त टोलीले राजदूत आचार्यलाई कार्यक्रममा सहभागिताका लागि आमन्त्रण पनि ग-यो।

https://www.jeevanvigyanuk.org/ मा गएर चक्र विज्ञान प्रशिक्षणबारे थप जानकारी प्राप्त गर्न सकिन्छ ।