सिड्नी । अबर्न नेपलिज कम्युनिटी अस्ट्रेलियाको अध्यक्षमा जितेन श्रेष्ठ चयन भएका छन् । १४ मे तारिख आईतवार अबर्नको फ्रेण्डसीप पार्कमा सम्पन्न कम्युनिटीको तेश्रो बार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नवगठित समितिको उपाध्यक्षहरुमा उद्धव पोखरेल, ज्वलन्त खतिवडा ( निरज), महासचिवमा सन्तोष आचार्य, सचिवमा आयूष अधिकारी र कोषाध्यक्षमा रेश्मा ढकाल लगायत अन्य २० सदस्य सर्वसम्मत चयन भएका छन । कम्युनिटीको महिला सयोंजक, युवा सयोंजक र अभिभावक सयोंजक भने नवनिर्वाचित समितिको पहिलो बैठकबाट चयन गरिने बताईएको छ । बिहान ११ बजेदेखि ५ बजेसम्म चलेको कार्यक्रममा झण्डै ३ सय जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, अन्तर्राष्ट्रिय झापाली समाजका पूर्वअध्यक्ष दिनेश पोखरेल, एनआरएनए ओसिनिया संयोजक दिनेशराज जोशी, एनआरएनए कोषाध्यक्ष अनिल पोखरेल, झापाली समाज अस्ट्रेलियाका अध्यक्ष निरन्जन प्रसाईँ, उपाध्यक्ष निरज खतिवडा, संस्थाका पूर्वअध्यक्षद्वय अशोक उप्रेती र रवीन्द्रकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।
संस्थापक कोषाध्यक्ष भएर काम गरेका श्रेष्ठ २ वर्ष उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा निर्वाचित भएपश्चात लण्डन नेपाल न्यूज अस्ट्रेलियासगं कुराकानी गर्दै श्रेष्ठले अवर्नमा बढ्दै गरेको नेपाली समुदायलाई एकीकृत गर्दै लैजाने बताए । झण्डै १० हजार नेपाली बसोबासी रहेको अवर्नमा कम्युनिटीको सदस्य संख्या बढाउने आफ्नो प्रमुख योजना रहेको उनको भनाई छ । नेपाली समुदायका विभिन्न व्यक्तिहरुसगं छलफल र अन्तरक्रिया गरेर कम्युनिटीमा समावेश गर्ने साथै अवर्न नेपलिज कम्युनिटीमा सदस्यता लिने नेपाली समुदायका व्यक्तिहरुलाई विभिन्न व्यवसायहरुमा छुट दिने व्यवस्था गर्ने पनि आफ्नो भावी योजना रहेको उनले बताए । त्यसकालागि व्यापारीक सघं संस्थाहरुसगं छलफल गर्ने भन्दै उनले अभिभावकहरुको बनभोज कार्यक्रम र भेला गर्ने जानकारी दिए ।






